दृष्टिकोण
पवन सुवेदी
हामी नेपालीमा निरन्तर परिवर्तन भइरहेको छ । आफूमा परिवर्तन गर्नु, गराउनु र समयसापेक्ष सही ढंगले सच्चिन पाउनु हाम्रो अधिकार पनि हो । परिवर्तनशील नेपाली समाज र देशको लागि परिवर्तनशील नयाँ सोच हामीमा आजको माग हो । हामी यही परिवर्तनशील समयको गतिमा बाँचिरहेका छौँ । यो समयमा समाज र देशका हरेक तह र सामाजिकरुपमा आबद्ध रहेका सबै परिवर्तन कुरिरहेका छन् । यो परिवर्तनको दायरामा सामाजिक चुनौतीको सामनामा हाम्रो परिवर्तित जीवनशैलीले पनि सोच रुपान्तरण गर्दैछ ।
कपडामा लागेको कफीको दाग धोयो भने जान्छ तर एसिड लागेको दाग कहिल्यै जाँदैन । त्यसैले अब हामी समाज र देश परिवर्तन र विकासको लागि साझेदार बन्न र एकीकृत भई कर्तव्य पथमा लम्किन प्रतिबद्ध रहनुपर्दछ । समाज र देश परिवर्तन गर्न जनताहरुको बढ्दो आवश्यकतालाई परिपूरण गर्न नवीन तरिकाहरु, सरल उपाय, सहज तथा सद्भावपूर्ण अनुभवहरु अनि नयाँ–नयाँ विचारको अपेक्षालाई पूर्णता दिनेतर्फ लाग्नुपर्दछ । विचार र योजनामा केन्द्रित रही सोसम्बन्धी कार्यदिशाको सान्दर्भिकतामा रहेर कार्य सम्पन्न गर्नुपर्छ । हाम्रो समुन्नतिले समग्रमा राष्ट्रले नै उन्नति पाउनेछ । यो राष्ट्र निमार्णको लागि बहुमूल्य कुरा हो ।
त्यसैले समाज र देशको परिवर्तन, विकास र सफलताका लागि उच्च दृष्टिकोण लिनु आवश्यक छ । अब पनि सोचमा परिवर्तन गर्न, सच्चिन खोजेनौं र जनादेशको सही उपयोग गर्न सकेनौँ भने हिजो देश जसरी सञ्चालित थियो, भोलि पनि त्यसरी नै सञ्चालित हुनेछ । केही नयाँपन र उदारतामुखी अभियान आउने छैनन् । जस्तो छ त्यस्तैमा चल्नेछ, कुनै बदलाव देखिने छैन, उही कछुवाको गतिमा हिँड्नेछ । अझ विशेषगरी विकट ग्रामीण भेगका समुदायमा सशक्तीकरण र विकास अभियानका कार्यक्रम सञ्चालनमा प्राथमिकता दिन नसकेमा अझै दूरावस्था आउनेछ । समृद्धि र विकासको प्रतिबद्धता घोषणापत्रमा मात्रै सीमित रहनेछ । यसमा जनता र राजनीतिज्ञहरुको पनि एकमत रहेको पाइएको छ ।
सामाजिकरुपमा थुप्रिएर रहेका फोहर डंगुरका थुप्रालाई साफ गरी समाज र देशको समृद्धिका लागि कसरी कार्य गर्नेछन् त्यो कुरा जनादेशबाट अधिकार प्राप्त नेतृत्व वर्गले नै बुझ्नेछन् । राम्रा र उत्कृष्ट नीतिनियम भएर पनि पालना र कार्यान्वयन नभएको अवस्थामा नेतृत्वकर्ताबाट कस्तो शासन र समृद्धिको आशा गर्न सकिन्छ, यो भविष्यको परिवेशले नै बताउने छ । भ्यागुताको आवाजलाई पछ्याउँदै गयो भने यो नेतृत्व पनि असफल नै हुनेछ । यो नेतृत्व नयाँ युवा शक्तिका नेतृत्वसँग सहकार्य गर्न उत्सुक र उत्साहित भयो भने निश्चय पनि यस्तो अवस्था नआउला । सकिन्छ राम्रो गरौँ नसके नेतृत्वलाई फोहरी नबनाऔं । अमिल्दो विजातीय गठजोडबाट सिर्जना हुने समस्यालाई निरुत्साहित गरौँ । कुशलता र पारदर्शीता अपनाऔं । एउटा मलिलो खाल्डोमा बसेर सम्पूर्ण नेपालीलाई संघर्ष गर्न सिकाउने आदेश मात्रै दिन नखोजौँ । कुशल नेतृत्वकर्ता बनौँ, हाकिम मात्रै बनेर अह्राउने प्रवृत्तिले असफलता नै दिन्छ ।
आशा गरौं अबको केही समयमा नै नेपाल र नेपालीका विकासका पूर्वाधार खडा हुनेछन् र राष्ट्रिय योजना तथा देशका धरोहर बोकेका कार्यक्रमहरु चाँडै पूरा हुनेछन् । देश र जनताका लागि गरिएका प्रतिबद्धताहरु शीघ्र कार्यान्वयनमा आउनेछन् । देशले चाँडै परिवर्तन, विकास र आर्थिकरुपमा समृद्धिमा फड्को मार्नेछ । नेतृत्व वर्गले पनि जनतालाई कुराले होइन काम गरेर बुझाउन सक्नुपर्दछ । समाज र देशका समस्या वा चुनौतीहरुलाई सकारात्मकरुपमा शिरोधार्य गरी अवसरको रुपमा जनतामाझ ल्याउन सक्नुपर्दछ ।
समाज र देशको आमूल परिवर्तन गर्न जुर्मुराएका हामी परिवर्तनशील नेपाली विभिन्न बहानामा कोही पनि पानी माथिको ओभानो बन्न खोज्नु हुँदैन । अब निरन्तर परिवर्तन र विकासको लागी लड्न साहस देखाउनै पर्दछ । त्यसैले प्रारम्भमा हामी आफैमा सकारात्मक सोचको पुनर्जागरण गर्नु नितान्त आवश्यक छ । सामाजिक समस्याका रुपमा रहेका जटिल चुनौतीका पहाडलाई फोडेर समथर फाँटजस्तै सम्पूर्ण नेपालीलाई एक ढिक्कामा एकीकृत गर्नु र एकनासले समाज र देशलाई समृद्धिको मार्गमा डो¥याउनुजस्तो ठूलो समस्याबाट पार लाउन नेतृत्व वर्ग कसरी सक्षम हुनेछन्, आउने परिवर्तित समयको गतिले देखाउनेछ । यसको लागि सरकार मात्र नभई सम्बन्धित सम्पूर्ण पक्ष र नागरिक समाज एक भई कर्तव्यपथमा जुट्नुपर्नेछ । तब समाज र देशमा आशाका किरणहरु देखिनेछन् ।
त्याग, बलिदान, साहस र लगनबाट सिर्जना भएका आशा र विश्वासले समाज र देश निरन्तर परिवर्तन भई नै रहनेछन् । तर, परिवर्तनमा अघि हुने मार्गलाई पहिले नै स्पष्ट गरिएको हुनुपर्दछ कि परिवर्तनका लागी हामी कुन हदसम्म जाँदैछौँ, सोको ज्ञान सदैव रहनुपर्दछ । समाज र देशलाई उत्कृष्टता प्रदान गर्न समाजका हरेक सदस्य सरल, सेवा र सहयोगमा केन्द्रित रही समाज र देशको भविष्यका लागि समस्या सामना गर्न तयार हुनुपर्दछ । हामी नेपालीमा आत्मविश्वासले समाज र देशमा परिवर्तन, विकास र समृद्धि ल्याउन, बढ्दो भ्रष्ट्राचारको जालोलाई परास्त वा निर्मुल गर्न, रोजगारीविहीनलाई रोजगारी दिन, सामाजिक विकृति र विसंगतिलाई अन्त्य गर्न ऊर्जा प्रदान गर्नेछ । फलस्वरुप विकासका अभियान पूरा गर्न सक्नेछौँ । आज देश धेरै परिवर्तन भइसकेको छ, अब मेहनत गर्दा धेरै सम्भावनाका ढोका खुल्नेछन् । देशको जड रोगको सनाखत भइसकेको छ । अब त्यसको उपचार हुन मात्र बाँकी छ । मात्र हामी आफ्नो ओहदाको सही प्रयोग गर्न र उद्देश्य उन्मुख कार्यदिशामा अघि बढ्न जिम्मेवार भई लाग्नुपर्छ ।
गैंडाकोट नगरपालिका १, नवलपुर