भरतपुर,२२ पुष ।
भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ५० लाख बराबरको बजेट प्रस्ताव गरेको छ । आर्थिक वर्षको मध्यतिर महानगरले ढिलो गरी बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
शुक्रबार महानगरको पहिलो नगरसभाले बजेट प्रक्षेपण गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटको ४७ दशमलव ८९ प्रतिशत चालुतर्फ र ५१ दशमलव ७७ प्रतिशत पुँजीगत खर्च रहेको उनले बताइन् । चालु खर्च १ अर्ब ४३ करोड ९१ लाख १८ हजार रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ५५ करोड ५८ लाख ८२ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
भरतपुर महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर दाहालले भनिन्, “आर्थिक वर्षको आधा समय व्यतित भइसकेको छ, यो वर्ष सम्भव हुने योजना मात्रै पेश गरेका छौँ ।” उनले महानगरको सम्भावना र चुनौतीको समग्र आँकलन गरी विकासका लागि आवश्यक स्रोतको खोजी गर्ने कामलाई प्राथमकितामा राखिएको बताइन् । उनले महानगरलाई अन्तर्राष्ट्रियस्तरमै पर्यटकीय केन्द्र बनाउन सकिने बताइन् । उनले २५ वर्षसम्मको आवश्यकतालाई मध्यनगर गर्दै एकीकृत योजना तर्जुमा गरे व्यवस्थित महानगर बनाइने बताइन् । उनले जग्गा बाँझो छाड्ने कामलाई निरुत्साहित गर्न सो जग्गमा हुने उत्पादनलाई आधार मानी क्षतिपूर्ति लिइने बताइन् । ‘एक वडा एक उत्पादन’, ‘खरका घर मुक्त महानगर’, ‘महानगर छात्रवृत्ति कार्यक्रम’, एक वडा एक उद्यान एक वडा एक पोखरी, एक वडा एक विपदु सुरक्षित स्थल, एक मार्ग एक रंग, काजविहिन कार्यालय, घरभित्रको फोहर घरभित्रै जस्ता अभियान चलाइने उल्लेख छ ।
“महानगरको हालको विमानस्थलाई विस्तार गर्न सम्भावनाका अध्ययन गरिनेछ”, मेयर दाहालले भनिन्, “दीर्घकालीन ठूला विमान सञ्चालनका लागि मेघौलीमा विमानस्थल स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ, महानगरका विकासका कार्यक्रममा सार्वजनिक नीजि साझेदारीलाई प्रोत्साहित गरिनेछ ।” वडा नम्बर ३ मा अटोल्याण्ड विकास गर्ने, देवघाटमा विद्युतीय शवगृह निर्माण, सबैघरको नक्सापास यहि वर्ष पूरा गर्ने जस्ता लक्ष्य लिइएको छ । आधुनिक ल्याण्डफिल साइट सञ्चालन गरी फोहरबाट ऊर्जा कार्यक्रम परियोजना सञ्चालन गरिने जनाइएको छ ।
नगरसभाको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, संघिय सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल, घनश्याम दाहाल अविनाश, एमाले नेता देवी ज्ञवाली, कांग्रेस चितवनका सभापति जीतनारयण श्रेष्ठ, माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । नगरसभामा उपमेयर पार्वती शाहले स्वागत मन्तव्य राखेकी थिइन् । नगरसभाले प्रस्तुत गरेका नीति, कार्यक्रम, बजेट माथि नगरसभा सदस्यहरु बीच शनिबार र आइतबार विशेष छलफल गरिनेछ । क्यान्सर अस्पतालको सभाहलमा हुने छलफलले प्रस्तावित बजेट, नीति तथा कार्यक्रमलाई अनुमोदन गर्ने जनाइएको छ ।
यसैबीच उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी बुद्धिसागर न्यौपाने र वडासचिव लक्ष्मी गुरुङलाई पुरस्कृत गरिएको छ । यस्तै पूर्वमेयर हिमबहादुर पिया, मुक्तिलाल चुके, पूर्वउपमेयर देवी ज्ञवाली, जगन्नाथ पौडेललाई सम्मान गरिएको थियो । यस्तै विभिन्न सामाजिक संघसस्थालाई सम्मान गरिएको थियो ।