भरतपुर,२२ पुष ।
चितवन उद्योग संघको नवौं अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई शुक्रबार पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीलाई गभर्निङ काउन्सिलका संयोजक ताराप्रसाद पौडेलले सपथ ग्रहण गराए ।
अध्यक्ष दुवाडीले नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । यस्तै संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डेले नवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीलाई संघको पिन प्रदान गर्दै पदहस्तान्तरण गरे । संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
उसैगरी खुल्ला सदस्यहरुमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज ओस्ती, पोखरेल मदन चिरञ्जीवी, राशी लामा, जितबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । यस्तै वस्तुगततर्फ ताराबहादुर कार्की, एशोसियट्सतर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिए ।
यस्तै प्रिमियर एशोसियट्समा उम्मेदवारी नपरेकोले खुल्लाबाट पदपूर्ति गरिएको छ । संघका नवनिर्वाचित अध्यक्ष दुवाडीले प्रकाशचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरेका छन् । संघमा निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे र कार्यकारी निर्देशक हरिहर भट्टराई पदेन सदस्य छन् । यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गभर्निङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्ष मध्ये एक जनालाई एक वर्षभित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गभर्निङ काउन्सिलले ६ महिनादेखि एक वर्षभित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ ।
संघको १८ औं वार्षिक साधरणसभा तथा नवौं अधिवेशनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रूपमा चिनाउनुपर्ने बताए । राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए । त्रिदेशीय साझेदारीले अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले भने, “हामी सबैले एकचोटी संकल्प गरेर अब पाँच वर्षभित्र कम्तीमा नेपाली जनतालाई एउटा नयाँ युग आएको हो भन्ने अनुभूति गराउनुपर्छ ।”
आउँदो दशक नेपालको समृद्धिको दशकका रूपमा हामीले संसारलाई चिनाउनुपर्ने उनले बताए । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले देशको आर्थिक विकासका लागि चितवनका उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, औद्योगिक क्षेत्र व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष नन्दकिशोर बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।