भरतपुर, २१ पुस ।
चितवनका शैक्षिक परामर्श व्यवसायी (एजुकेसन कन्सल्टेन्सी सञ्चालक)हरु अधिवेशनको तयारीमा छन् । शनिबार हुने उनीहरुको छाता संस्था शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको चौथो अधिवेशन तथा छैटौं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
शनिबार बिहान ८ बजे साधारणसभा तथा अधिवेशन राखिएको ईक्यान चितवनका अध्यक्ष जीवन रिजालले जानकारी दिए ।
आगामी कार्यसमितिका लागि दुई जना व्यवसायीले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । हालका उपाध्यक्ष भानु खरेल र हालका सचिव हिम्मत पुरीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । खरेल इन्नोभेटिभ एशोसिएट्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक हुन् भने पुरी अलमाइटी इन्टरनेसनल एजुकेसन सर्भिसका सञ्चालक हुन् ।
दुवैजना उम्मेदवार पछि नहट्ने सुरमा छन् । त्यसैले नयाँ नेतृत्वका लागि मतदान हुने सम्भावना छ । ईक्यान चितवनमा ५५ जना सदस्य छन् । जिल्लामा करिब २ सय व्यवसायी छन् । अझै करिब डेढ सय व्यवसायी ईक्यानबाहिर छन् ।
शिक्षामा संवेदनशील क्षेत्रको रुपमा लिइएको शैक्षिक परामर्श संघमा दुवैजना विगत लामो समयदेखि आबद्ध छन् । रोलक्रमअनुसार नै अध्यक्षमा उम्मेदवारी दिन लागेको खरेलले बताएका छन् । पुरीले ईक्यानमा सम्बद्ध व्यवसायीलाई व्यावसायिक र प्राविधिकरुपमा सफल बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
यसअघि विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका खरेल आफूले नेतृत्व पाए यस क्षेत्रका व्यवसायीलाई लाग्दै आएको अनेक आरोप मेटेर देखाउने दावी गर्छन् । “धेरैभन्दा धेरै विधार्थी लाइ शैक्षिक छात्रवृति प्राप्तिका लागि पहल गर्न गराउन तथा शैक्षिक परामर्श संघलाई मर्यादित, संगठित र नैतिक पेशा व्यवसायको रुपमा स्थापित गर्न मेरो उम्मेदवारी हो”, खरेलले भने, “मैले नेतृत्व गर्न पाए नियमानुसारको व्यावसायिक कर्जा तिरी, रोजगारीको सिर्जना गरी राज्यलाई समेत सहयोग गर्नेछु ।”
अर्का उम्मेदवार पुरीले विभिन्न २२ बुँदामा आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । “इच्छाअनुसारको गुणस्तरीय शिक्षा, हामी सबैको अपेक्षा चाहे त्यो देशमा होस या विदेशमा”, पुरी भन्छन्, व्यवसायिकता मात्र हेर्न होइन, आम विद्यार्थी, अभिवाभाक र राज्यप्रति व्यवसायीलाई उत्तरदायी बनाउन मेरो उम्मेदवारी हो ।” विगतमा आफूले प्रस्तुत गरेको कार्ययोजनाकै कारण वर्तमान कार्यसमिति सफल भएको दावी गर्दै आफूले नेतृत्व गर्न पाए अझै गरिमा उच्च बनाउने उद्घोष पुरीले गरेका छन् ।
ईक्यान चितवनको अध्यक्षमा भानु र हिम्मतको उम्मेदवारी
ईक्यान चितवनको अध्यक्षमा भानु र हिम्मतको उम्मेदवारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस