भरतपुर,२१ पुष ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताबारे गाँठो नपरेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा बिहीबार प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “बाहिर बेकारमा हल्ला गरेका छन्, गाँठो केहि पनि परेकै छैन, अहिले छलफल सकारात्मक भइरहेको छ ।”
माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण निर्वाचन सकिएपछि पनि पूर्णता नपाएपछि अनेक आशंका गर्न थालिएको छ । तर, प्रचण्डले पार्टी एकतामा कुनै विमति नरहेको दावी गरेका छन् । “ठोसरुपमा हाम्रो विवाद आएकै छैन, दुई पार्टीका अध्यक्षलाई समुचित भूमिका दिने कुरामा हामीभित्र कुनै विमति छैन”, उनले भने, “कार्यकारी पद सहज ढंगले समाधान हुन्छ ।” उनले एमाले अध्यक्ष ओली ‘बिसञ्चो’ भएकाले एकता टुंग्याउन केहि ढिलाइ भएको बताए । “छलफल गरेर दुई दिन अगाडि टुंग्याउने भनेका थियौँ, ओलीजी बिसञ्चो हुनुभयो, २÷३ दिन छलफल हुन सकेन, तर सरकार गठन अगावै पार्टी एकता गर्ने भन्नेतिर जोड छ ।” उनले पार्टि एकताबारे फैलाइएका भ्रममा नपर्न आग्रह समेत गरे । “५०÷५० को कुरा, यो चाहि रहन्छ, त्यो रहदैन भन्ने कुरा विलकुल गलत छ”, उनले भने, “‘लिडरसीप लेबल’ मा गम्भीर छलफल भएको छ ।”
अस्थायी केन्द्रले तनाव लिनुपर्दैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका अस्थायी केन्द्रबारे ‘टेन्सन’ लिन नपर्ने बताएका छन् । उनले वर्तमान सरकारले अस्थाई केन्द्र तोकेपनि प्रदेशसभा बैठकले आँफु अनुकुल केन्द्र तोक्ने भएकाले अहिले विवाद गर्नुनपर्ने बताएका छन् ।
“अहिले तोक्ने अस्थाई मात्रै हो, आखिर त्यसको अन्तिम फैसला प्रदेशसभाले गर्छ”, उनले भने, “धेरै ‘टेन्सन’ मा हामी बस्नु जरुरी छैन, यो सामान्य विषय हो ।” सरकारले प्रदेशसभा तोक्दाका अध्ययन रिपोर्ट गलत भए प्रदेशसभाले अर्को प्रदेश तोक्न सक्ने र सहि भए समर्थन गर्न सक्ने बताए । उनले प्रदेशसभा गठनलाई सहज बनाउन सरकारले अस्थायी केन्द्र तोकिनु राम्रो हुने बताए । “म नै प्रधानमन्त्रीहुँदा शहरी विकास मन्त्रालय र सम्वन्धित विभागलाई सबै अनुकुलता हेरेर केन्द्र तोक्ने जिम्मेवारी दिएका थियौँ, रिपोर्ट आएन, अहिले रिपोर्ट आएको भन्ने सुन्नमा आएको छ, तर त्यो हामीलाई उपलब्ध छैन”, उनले भने, “सरकारलेनै त्यसको अध्ययन गरेर अस्थाई केन्द्रकाबारेमा निर्णय गरोस् ।” उनले प्रदेशसभा प्रमुख तोक्न वर्तमान सरकारलाईनै जिम्मा दिएको बताए ।
छिटो नयाँ सरकार बनोस्
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा निर्वाचनका लागि हुनै अवरोध नभएकाले छिटै निर्वाचन गरेर नयाँ सरकार गठनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । “पहिला थोरै गाँठो पर्ने होकी भन्ने डर थियो, अध्यादेशको गाँठो फुकेको छ”, उनले भने, “अब राष्ट्रियसभाको निर्वाचन छिटै होस्, लगत्तै सरकार गठनको प्रक्रिया अगाडि जान कुनै व्यवधान छैन ।” उनले छिटो राष्ट्रियसभाको निर्वाचन गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।