रत्ननगर,२१ पुष ।
रत्ननगरको टिकौलीचौरमा हुन लागेको रत्ननगर महोत्सवमा बाँसबाट निर्माण गरिएको धरहराबाट दृश्यावलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २७ गतेबाट सुरु हुने सो महोत्सवमा ऐतिहासिक महत्वको धरहराको प्रतिमूर्ति राख्न लागिएको महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।
महोत्सवस्थलमा नेपालमै उत्पादित बाँसबाट कृत्रिम धरहरा निर्माणको काम भइरहेको छ । सो धरहरा ७५ फिट अग्लो हुनेछ । ३० फिटमा चढेर वरिपरिको दृष्यावलोकनको व्यवस्था मिलाइएको संयोजक रेग्मीले बताए । एक पटकमा करिब ४० जना मान्छे चढेर दृश्यावलोकन गर्न सक्ने गरी बलियो धरहरा बनाइएको उनले बताए ।
२०७२ सालमा आएको भूकम्पले धरहरा भत्काइदियो । धरहरा प्रति सबैको चासो छ । बाँसबाट बनेको धरहरा चढेर दृश्यावलोकन गर्न पाउँदा दर्शकलाई केही नयाँपनको महसुस होस् भनेर कृत्रिम धरहरा निर्माण गरिएको संयोजक रेग्मीले बताए । महोत्सव अवलोकन गर्न आउनेलाई थप मनोरञ्जन प्रदान गर्न ऐतिहासिक महत्व बोकेको धरहराको प्रतिमूर्ति निर्माण गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । रत्ननगर महोत्सवले हरेक पटक दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न नयाँ–नयाँ कार्यक्रम ल्याउने गरेको छ । यसअघिको महोत्सवमा उँट र अस्ट्रिच राखेको रत्ननगर महोत्सवले यसवर्ष सबैको आकर्षणको केन्द्र धरहराको प्रतिमूर्ति महोत्सवस्थलमा निर्माण गरेको छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको प्रचार प्रसार, स्टल निर्माण, पत्राचारलगायत काम अन्तिम चरणमा पुगेको संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिए । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउने करिव ४ सय ५० वटा स्टल रहनेछ ।