भरतपुर,२१ पुष ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले ‘क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेसन’ (क्यूएए) प्रमाणपत्र पाएको छ । शैक्षिक संस्थाको गुणस्तर मापन क्यूएए प्रमाणीकरण गर्ने विश्वव्यापी प्रचलनअनुसार विश्वविद्यालय अनुदान आयोगले गत बुधबार यो प्रमाण प्रदान गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगले निश्चित गरेका ८ वटा मापदण्डमा प्राप्त गरेको उत्कृष्टताले क्याम्पसको गुणस्तरलाई प्रमाणीकरण गरेको क्याम्पसले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । हालसम्म नेपालका सप्तगण्डकीजस्तै १९ वटा शैक्षिक प्रतिष्ठानहरुले यो प्रमाणपत्र प्राप्त गरेका छन् । सप्तगण्डकीले पनि सन् २०११ मा स्वाध्ययन प्रतिवेदन तयार गर्ने स्वीकृतिपत्र प्राप्त गरेकोे क्याम्पस प्रमुख खेमनारायण सापकोटाले बताए । क्याम्पसले १६ जुन २०१४ मा उक्त प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा पेश गरेको थियो ।
सन् २०१७ अप्रिल २५–२९ मा प्रा.डा.शिवकुमार राईको नेतृत्वमा, प्रा.डा. सुनिति हाडा श्रेष्ठ, प्रा. बालकृष्ण श्रेष्ठ, फरेन एक्सपर्ट प्रा. डा. हृषिकेश सेनापति, क्यूएए डाइरेक्टर डा.श्याम लोहन र ममता प्रजापतिको टिमले क्याम्पसको अन्तिम पियर भिजिट गरेको थियो । अन्तिम पटक सन् २०१७ सेप्टेम्बर १६–१८मा अवलोकन भइ नोभेम्वर २३, २०१७ को निर्णयानुसार विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको प्रमुख सापकोटाले बताए ।
यो प्रमाणीकरण ५ वर्ष (सन् २०२२ नोभेम्बर २२) सम्म कायम रहने क्याम्पस सञ्चालक समिति अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । ५ वर्षे प्रमाणीकरणको समयमा प्रत्येक वर्ष यसको गुणस्तरको परीक्षण नियमितरुपमा हुनेछ । हालको गुणस्तरमा ह्रास आएको खण्डमा यो प्रमाण खोसिन पनि सक्ने हुँदा यसमा सचेत रहेको अध्यक्ष थापाले बताए ।
क्याम्पसको विकासका निमित्त आर्थिक रुपमा समेत विश्वविद्यालय अनुदान आयोगबाट थप अनुदान प्राप्त गर्न सफल भएको छ । २०४५ सालमा स्थापना भएको यस क्याम्पसमा प्लस टू, स्नातक र स्नात्तकोत्तर तहमा गरी कुल ३ हजार ५५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।