धु्रवराज खनाल/कायाकैरन
खैरहनी,२० पुष ।
चितवनको खैरहनी नगरपालिकामा कृषि क्याम्पस सञ्चालन गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयले खैरहनी नगरपालिका–४, चैनपुरस्थित तत्कालीन माओवादी लडाकु शिविर भुताहामा कृषि क्याम्पस सञ्चालन गर्न लागेको हो ।
त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ । हाल सशस्त्र प्रहरी बस्दै आएको सो स्थानमा भौतिक संरचना निर्माण गर्न समय लाग्ने भएकाले यसको संयोजन खैरहनी नगरपालिकाले गरेको छ । आगामी शैक्षिक सत्रदेखि नै क्याम्पस सञ्चालन गर्ने तयारी गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए । संरचना निर्माण नहुञ्जेलसम्म तत्काललाई खैरहनी नगरपालिका–६ स्थित खैरहनी माविको निर्माणाधीन भवनमा कक्षा सञ्चालन गर्ने र खैरहनी नगरपालिकाको पुरानो भवनमा प्रशासन रहने गरी क्याम्पस सञ्चालन गर्न लागिएको मेयर चौधरीले बताए ।
“क्याम्पस सञ्चालनका लागि भुताहामा भौतिक संरचना निर्माण गर्न केही वर्ष लाग्छ”, मेयर चौधरीले भने, “आगामी शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्ने भएकाले नगरपालिकाले संयोजन गरेर तत्कालका लागि भवन उपलब्ध गराउन लागेको छ ।” नेपाल सरकारले कालिका नगरपालिकाको शक्तिखोरमा कृषि क्याम्पस खोल्ने तयारी गरेपनि पछि खैरहनी–४ स्थित कंकाली सामुदायिक वनको क्षेत्रमा रहेको तत्कालीन माओवादी लडाकु शिविर भएको स्थानमा क्याम्पस स्थापना गर्ने निर्णय गरेको थियो । वनको ३ सय ५४ विघा जमिनमा क्याम्पस स्थापना गरिने छ । सुरुको वर्ष स्नातक तहमा ५० जना विद्यार्थीको भर्ना लिने जानकारी आएको मेयर चौधरीले बताए । “खैरहनी नगरपालिका कृषिको पकेट नगरपालिका पनि हो, यहाँ कृषि क्याम्पस आवश्यक थियो”, मेयर चौधरीले भने, “किसानसँग जोडेर नयाँ ढंगबाट अनुसन्धान गर्न यस कृषि क्याम्पसले ठूलो मद्दत पुग्दछ ।”
मेयर चौधरी पनि कृषिको विद्यार्थी हुन् । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले भुताहामा भवन निर्माण नहुञ्जेलसम्म नगरपालिकाले भवनदेखि अन्य केही भौतिक सहयोग गर्ने बताए । “कृषिको विषय पढ्न चितवनकै रामपुरदेखि अयन्त्र जानुपर्ने बाध्यता थियो”, प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, “यहाँ खुल्ने क्याम्पसले स्थानीयस्तरमै विज्ञ उत्पादन हुनुका साथै कृषिको विकासमा ठूलो टेवा पुग्नेछ ।” सरकारले चितवनको चैनपुरसहित झापामा आगामी शैक्षिक सत्रदेखि कृषि क्याम्पस सञ्चालन गर्न लागेको हो । खैरहनीका मेयर चौधरीले कृषिको केन्द्रीय क्याम्पस चैनपुरमै सञ्चालनमा गर्ने गरी तयारी गरिएको बताएका छन् ।
विकासमा ४ मेयरको सहकार्य
पूर्वी चितवनका चार वटा नगरपालिकाहरु विकास निर्माणमा सहकार्य गरेर अघि बढ्ने भएका छन् । यहाँका चार वटा नगर कार्यपालिकाका मेयरको सामुहिक बैठकले विकास निर्माणमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका हुन् ।
रत्ननगर नगर कार्यपालिकाको अगुवाइमा खैरहनीमा भएको बैठकले विकास निर्माणलाई सँगसँगै अगाडि बढ्ने सहमति भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । बैठकले विकास निर्माण र उपकरण खरिदमा समेत साझेदारी गर्ने, चारवटै नगर कार्यकालिकालाई जोड्ने गरी रिङरोड बनाउने सहमति भएको उनले बताए । “भविष्यमा पूर्वी चितवनका चारवटा नगरपालिका उपमहानगर वा महानगरपालिका बन्ने छ”, रत्ननगरका मेयर वनले भने, “त्यसका लागि नै आधार तयार गर्न अहिलेदेखि नै हामीहरु विकासमा सँगसँगै अघि बढ्न खोजेका हौं ।”
साझारुपमा सञ्चालन हुने सवारीसाधन दमकल, एम्बुलेन्स, डोजर, एक्साभेटरहरु साझेदारीमै खरिद गर्ने र आवश्यकताअनुसार चारवटै नगर कार्यपालिकाले प्रयोगमा ल्याउने बैठकमा सहमति भएको छ । बैठकमा रत्ननगर नगर कार्यकालिकाका मेयर नारायण वन, कालिका नगर कार्यकालिकाका मेयर खुमनारायण श्रेष्ठ, खैरहनी नगर कार्यपालिकाका मेयर लालमणि चौधरी र राप्ती नगर कार्यपालिकाकी मेयर प्रभा बरालको सहभागिता रहेको थियो ।