विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१९ पुष ।
नारायणी कला मन्दिरको स्टेजमा झगडा भयो । लगत्तै प्रहरी आए । वीरबहादुर प्रहरी हिरासतमा पुगे । जाँडले मात्तिएका वीरबहादुरलाई प्रहरीले कुट्नुसम्म कुटे । भोलिपल्ट बिहानै सुब्बा साब आए । “अब त्यो फुस्रालाई पूरै झ्याँक्नु”, सुब्बाले प्रहरी हवल्दारलाई सिकाउँदै थिए । खुसुक्क गल्तीमा राख्ने रकम भेटेका प्रहरीले जवाफ फर्काउँदै थिए, “अब त पूरै सर्भिसिङ गर्छु नि ।”
वीरबहादुर रिक्साचालक हुन् । राति घर फर्काउने क्रममा सुब्बाकै आग्रहमा उनले रक्सी पिए । रक्सीले दुबै मातेपनि वीरबहादुर होसमै थिए । आफ्नी श्रीमतीलाई पैसामा दिन भनेपछि वीरबहादुर सुब्बामाथि जाइलागे । उनको निधारमा चोट लाग्यो । तत्कालै प्रहरी पुगे । प्रहरीले वीरबहादुरलाई कागजपत्र गराउने बेला उनकी प्रेमिका प्रेमलता आइपुगिन् । प्रेमलता सम्पन्न परिवारमा हुर्केकी थिइन् । पहिलो प्रेमीसँग उनी टाढिएकी थिइन् ।
रामलाल जोशीको मदन पुरस्कार विजेता कथासंग्रह ‘ऐना’ मा संग्रहृत ‘श्रीमान् वीरबहादुर’ को नाटकका दृश्य हुन् यी । जसको मंगलबार नाट्यकर्मी समूहले विशेष सो गरेको थियो । झण्डै डेढ महिना लगाएर कथालाई नाटक बनाइएको छ । यो नाटक बुधबार दिउँसोदेखि शनिबारसम्म नारायणी कला मन्दिरमा मञ्चन गरिदैछ । दिउँसो १ बजे र ४ बजे टिकटमा नाटक हेर्न पाइने छ । नाटकमा वीरबहादुरको भूमिकामा सुरेश जिसी, पत्रकारका रुपमा अञ्जान ढुंगाना, सुब्बाको भूमिकामा विकेक तिवारी, प्रहरी हवल्दारको रुपमा तिलक पौडेल र सुमित आचार्य स्टेजमा देखिदैछन् । नाटकमा रंग संयोजन तथा व्यवस्थापकका रुपमा मुकुन्द खलपात्र छन् ।
“नाटक बनाउँदा कथाको मर्मलाई न्याय गरेका छौँ, कथा बंगाएका छैनौँ, सजिलै बुझ्ने गरी प्रस्तुत गरेका छौँ”, नाटकका निर्देशक तथा कलाकार भीष्म जोशीले भने, “हामी परिक्षामा छौँ, तर नाटक निकै राम्रो बनेको छ ।” जोशी फिर्के चलचित्रमा पनि अभिनय गरेका कलाकार हुन् । आधा दर्जन बढी नाटकमा अभिनय गरिसकेका जोशीको यो पहिलो निर्देशनमा बन्न लागेको नाटक हो । उनी नाटकमा असईको भूमिकामा देखा पर्दैछन् ।
“चितवनमा नाट्यघर बनाउने अभियानलाई सार्थक बनाउन नाटक देखाउन लागेका हौँ”, नाट्यकर्मी समूहका संयोजक मुकुन्द खलपात्रले भने, “चितवनमा राम्रा नाटक देखाइरहँदा नाट्यघरको आवश्यकता महसुस सबैलाई हुन्छ नै, यो अभियानले सफलता पाउँछ भन्ने लाग्छ ।” चितवनमा नाट्यघर (थिएटर) नहुँदा नाटक विधामा कलाकारनै पाउन मुस्किल हुने गरेको बताउँछन् । “नाटकमा खेल्ने कलाकारनै पाउन कठिन भो, आउने पनि फर्कने जाने क्रम भयो”, उनले भने, “नाटकलाई पेशा बनाउन सकिन्छ, त्यो सम्भावना छ, तर थिएटर हुनुपर्छ ।” उनले चितवनमा थिएटर बनेमा धेरै कलाकारले अवसर पाउने बताउँछन् ।
उनले नाटक मञ्चनबाट बचत हुने रकमलाई नाट्यघरको अस्थाई स्वरुप बनाउन खर्चिने बताए । “क्षेत्रपुरमा वडा कार्यालय नजिकै केहि जग्गा छ, महानगरसँग अनुरोध गरेर थिएटर बनाउन प्रस्ताव गर्नेछौँ”, उनले भने, “बाँसले बारेर भएपनि थिएटर बनाउने छौँ, नाटकका पारखी र कलाकारलाई ठुलो उपलब्धि हुनेछ ।” २ वर्ष अघिबाट नाट्यकर्मी समूहले थिएटर निर्माणका लागि कविताबाचन लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
‘श्रीमान वीरबहादुर’ नाटकले फरक जात, धर्म र समुदायबीचको प्रेमलाई उजागर गर्न खोजेको छ । कथामा परिस्थितिले सामान्य चिनजान गरेकालाई पनि प्रेमको कसिलो डोरीमा बाँधेको छ । बुबा सरकारी जागिरे, आमाको सानै उमेरमा मृत्यु भएपछि एक्ली बनेकी प्रेमलता युवाअवस्थामा प्रेमसम्बन्धमा पर्छिन् । तर, प्रेमीसँग रात विताएको अवस्थामा भेटिएपछि हिरासतमा पर्छिन् । उनका प्रेमी उनीबाट टाडिन्छन्, तर त्यो सम्बन्धको चिनोलाई प्रेमलताले हुर्काउँछिन् । उद्वार गर्ने क्रममा खटिएका रिक्साचालककै नाम बच्चाको जन्मकार्डमा देखेपछि उनी पौराणीक कथा सम्झन पुग्छिन् । र, साँचो माया गर्न पुग्छिन् । नाटकले जातीय विभेद, मौलिक परिवेशलाई समेत उतार्न खोजेको छ । “नारि अझै स्वतन्त्र बन्न सकेका छैनन्, गरिब र धनि परिवारबीचको मिलनलाई नाटकमा उतार्न खोजिएको छ”, नाटकमा प्रेमलता बनेर अभिनय गरेकी कलाकार कृपा अधिकारीले भनिन्, “जीवन संघर्ष हो, आत्तिनुहुदैन, समयले जुद्ध्न सिकाउँछ ।” उनले चितवनमा मासिक रुपमा नाटक मञ्चन हुने अवस्था बनेमा कलाकारको संख्यामा वृद्धि हुने बताइन् । “कलाकार बन्न चाहने धेरै छन्, अवसरको खोजीमा छन्”, उनले भनिन्, “तर, थिएटर छैन, नाटक मञ्चन हुनै मुस्किल छ, चितवनलाई नाटकको घर बनाउनुपर्छ ।”
नारायणी कला मन्दीरका अध्यक्ष अमर प्रधानले कलाकारलाई प्रोत्साहन दिने नीति स्थानीय सरकारबाटै हुनुपर्ने बताउँछन् । “राम्रो सभाहल, राम्रो थिएटर बनाउन सके चितवन कलाकार उत्पादन गर्ने थलो बन्नेछ”, उनले भने, “स्थानीय सरकारले नीजि क्षेत्रसँग समन्वय गरेर यस्ता पूर्वाधार बनाउनुपर्छ ।”