रत्ननगर,१९ पुष ।
पुस २७ गतेदेखि सुरु हुने रत्ननगर महोत्सवमा सहभागिताको लागि आयोजकले घरघरै निमन्त्रणा कार्ड पु¥याएको छ । महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघले जिल्लाबासीको घरघरै पुगेर निम्ता दिएको हो ।
समग्र जिल्लाको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागी भएर महोत्सवलाई अवलोकन गरिदिन कार्ड वितरण गरेरै आयोजकले जिल्लाबासीलाई आग्रह गरेको छ । “हामीले जिल्लाबासीको घरघरै निमन्त्रणा कार्ड पु¥याउने कोसिस गरिरहेका छौं”, संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक राजाराम रेग्मीले भने, “निमन्त्रणा गरेर महोत्सवमा सहभागी हुन आग्रह गरेका छौं ।” संयोजक रेग्मीले जिल्लाबासीको घर र सहकारी तथा सामाजिक संघसंस्थामा निमन्त्रणा कार्ड पु¥याइएको बताए ।
आगामी पुस २७ देखि माघ ७ गतेसम्म रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको स्टल निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । महोत्सव नजिकिदै गर्दा आयोजकले प्रचारप्रसारको काम तीव्र पारेको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिब ४५० वटा स्टल रहने स्टल व्यवस्थापन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।
यसपटकको महोत्सवमा ५ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । महोत्सवमा बृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई प्राथमिकता दिइएको संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिए ।
शोभायात्रा विशेष बनाइदैं
नेपालभर हुने महोत्सवमध्येको चर्चित रत्ननगर महोत्सवमा यसपटक शोभायात्रालाई विशेष बनाउने तयारी गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन समारोहलाई रौनकता प्रदान गर्न शोभायात्रा व्यवस्थित बनाउन लागिएको शोभायात्रा व्यवस्थापन समितिले जनाएको छ । शोभायात्रामा यस क्षेत्रका विभिन्न जातजाति, आमा समूह, धार्मिक संस्था, विद्यालय, टोल सुधार समिति, क्लब, कृषि, पशुपंक्षीसँग सम्बन्धित संस्थालगायतका करिब ५ सय वटा समूहको सहभागिता गराउने प्रयास भइरहेको शोभायात्रा व्यवस्थापन समिति संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन् ।
अघिल्ला महोत्सवमा करिब ३ सय ५० को हाराहारीमा संघसंस्था सहभागी हुने गरेका थिए । “महोत्सवको पहिलो दिनलाई नै विशेष बनाउने प्रयास हामीले गरेका छौं”, समितिकी संयोजक घिमिरेले भनिन्, “अघिल्ला महोत्सवको भन्दा केही फरक हुने अपेक्षा छ ।” शोभायात्रामा थारु समुदाय र आमा तथा महिला समूहको बढी सहभागिता रहने संयोजक घिमिरेले बताइन् । मधेशी समुदायको पहिचान झल्कने झाँकीसमेत यसपटकको महोत्सवमा हेर्न पाइने उनले जानकारी दिइन् । “हाम्रो मुलुक बहुजाति, बहुभाषिक भएको देश हो, यी सबैको जगेर्ना गर्न आवश्यक पनि छ”, संयोजक घिमिरेले भनिन्, “सबै समुदायको प्रतिनिधित्व हुने गरी शोभायात्रामा सहभागी गराउँदैछौं ।”
यसपटक रत्ननगर उद्योग वाणिज्य संघले सञ्चालन गरेको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत उद्धार गरिएका र जीविकोपार्जन गर्न व्यवसाय उपलब्ध गराएकाहरु पनि समावेश हुँदैछन् । श्रममा लगाएकालाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि उनीलाई शोभायात्रामा सहभागी गराउन लागिएको संयोजक घिमिरेले जानकारी दिइन् । शोभायात्रामा सहभागी हुनेमध्येलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । सहभागीमध्ये संघसंस्था, थारु लाठीनाच, डम्फुनाच, कृषि, पंक्षी, सञ्चारमाध्यमबाट सर्वोत्कृष्ट, उत्कृष्ट र उत्तम छनौट गरेर अवार्ड प्रदान गरिने संयोजक घिमिरेले बताइन् ।