भरतपुर,१८ पुष ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले आगामी वर्षाअघि नै ६० प्रतिशत भूकम्पपीडितको घर बनिसक्ने बताएका छन् ।
आइतबार भरतपुरको जिल्ला समन्वय समिति हलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख भुसालले वर्षाअघि ६० प्रतिशत भूकम्पपीडतले सुरक्षित आवास पाउने बताए । उनले ७ लाख ४७ हजार घर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ८० हजार निर्माण भइसकेको र पुनर्निर्माणको काम अहिले तीव्र गतिमा अगाडि बढेको बताए । अहिले ईञ्जिनियरलाई १० दिनको तालिम दिएर सम्बन्धित ठाउँहरुमा पठाइसकेको समेत उनले बताए । जनताको समस्या र गुनासा समयमा नै समाधान गर्ने उनको भनाइ छ ।
चितवन जिल्ला देशको प्रमुख केन्द्र भएकोले यस जिल्लामा भूकम्पपिडितको लागि गरिने कार्यमा कुनैपनि कसर बाँकी नराख्ने उनले बताए । कार्यक्रममा जिल्ला प्राधिकरणका प्रमुख राजेन्द्र कार्कीले चितवन जिल्लाको कार्य प्रगतिबारे जानकारी दिएका थिए । प्रमुख कार्कीले जिल्लामा निजी आवास निर्माणतर्फ ७ हजार ३ सय ३५ पहिचान भएका लाभग्राहीमध्ये ५ हजार १ सय ५५ जनाले पहिलो किस्ताको रकम लिइसकेको र २ हजार १ सय ८० को सम्झौता हुन बाँकी रहेको जानकारी दिए । जसमा भरतपुर महानगरपालिकामा ५ सय ६९, इच्छाकामना गाउँपालिकामा १ हजार ८ सय ३६, माडी नगरपालिकामा २२, कालिका नगरपालिकामा ५ सय १७, रत्ननगर नगरपालिकामा ६ सय १६, खैरहनी नगरपालिकामा ४ सय ७९, र राप्ती नगरपालिकामा १ हजार १ सय १६ जनाले पहिलो किस्ताको रकम लिइसकेको बताए । उनले सार्वजनिक जग्गामा बसेको लालपुर्जाविहीन भूकम्पपीडित र जोखिमयुक्त बस्तीका कारण पुननिर्माणमा कठिनाइ भएको बताए ।
उनका अनुुसार इच्छाकामना गाउँपालिकामा १ सय २ घरधुरी जोखिमयुक्त रहेका छन् भने राप्ती नगरपालिकामा १८ र कालिका नगरपालिकामा १ घर जोखिम बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ । जसमा राप्ती र कालिका नगरपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरण गर्न त्यहाँको सम्बन्धित स्थानीय तहले प्रक्रिया गर्दै गरेको जिल्ला प्राधिकरणका प्रमुख राजेन्द्र कार्कीले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरुले मन्तव्य व्यक्त गरेका थिए ।