धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१८ पुष ।
राज्यको कूल ग्राहस्थ उत्पादनको करिब चार प्रतिशत ओगटेको पोल्ट्री क्षेत्रअन्तर्गत चल्ला, दाना र मासुको मूल्यमा आउने उतारचढावले व्यवसायी मर्कामा परेका छन् । साथै लागत मूल्यअनुसारको बिक्री मूल्य पाउनसमेत कठिन रहेको उनीहरु बताउँछन् ।
पाँचौ पोल्ट्री दिवसको अवसरमा सोमबार रत्ननगरमा आयोजित अन्तरक्रिया तथा गोष्ठीमा पनि यो विषयले चर्चा पायो । कार्यक्रममा बोल्ने व्यवसायीले चल्ला, दाना र मासुको मूल्य निर्धारण गर्नुका साथै व्यवसाय सञ्चालन गर्ने वातावरण राज्य पक्षबाट मिलाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । नेपाल कुखुरापालक संघका अध्यक्ष झनक पौडेलले चल्ला खरिद गर्दा एकरुपता नभएको बताए । “चल्लाको मूल्य कहिले एक सय पुग्छ, कहिले ४० रुपैयाँमा पाइन्छ यसले ब्रोइलर कुखुरा पाल्ने किसान मर्कामा छन्”, संघका अध्यक्ष पौडेलले भने, “मूल्य निर्धारणसँगै दाना र औषधिको गुणस्तरमा ध्यान दिन जरुरी छ ।”
ब्रोइलर कुखुरा पाल्ने किसानहरु ढक काँटाबाट समेत ठगिएको भन्दै कुखुरापालक संघका अध्यक्ष पौडेलले मूल्यमा एकरुपता नहुनु र दाना र औषधिमा गुणस्तर नहुँदा हेपिएर बस्नुपरेको गुनासो गरे । कार्यक्रममा कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष भीमनारायण श्रेष्ठले कुखुरापालक किसानले कम्तीमा पनि लागत मूल्य पाउनुपर्ने बताए । चल्लाको मूल्य बढ्दै गएको तर मासुको मूल्य घट्दै गइरहेको भन्दै संघका अध्यक्ष श्रेष्ठले उत्पादनअनुसार लागत मूल्य पाउन नसके किसान र व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताए ।
श्रेष्ठका अनुसार प्रतिकिलो कुखुराको मासु उत्पादन गर्न १५० देखि १६० रुपैयाँसम्म लाग्छ । तर, अहिले एक सय ४० रुपैयाँसम्म प्रतिकिलो बिक्री गर्नुपरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानले सहुलियत ऋण पाउन नसकेको भन्दै चिन्ता जनाए । सरकारले किसानलाई ५ प्रतिशत ब्याजमा ऋण प्रदान गर्ने घोषणा गरेको थियो । “तर, कार्यान्वयन भएको छैन”, उनले भने, “पाँच प्रतिशतमा ब्याज हो कि पाँच प्रतिशत किसानलाई ब्याज ? यसमा सरकार रमिते बनेको छ ।”
नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष डा. तिलचन्द्र भट्टराईले उत्पादनअनुसारको लागत मूल्य पाउन नसकेको र अन्तर्राष्ट्रियस्तरको गुणस्तर नभएको बताए । कार्यक्रममा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपाल अण्डामा करिब–करिब आत्मनिर्भर भइसकेको भन्दै मासु र दूधमा आत्मनिर्भर बनाउन सरकार प्रयासरत रहेको बताए । सचिव ओलीले पोल्ट्रीको समस्या समाधान गर्न समन्वय गर्दै आत्मनिर्भरतातर्फ लाग्ने बताए ।
समग्र नेपालमा पोल्ट्री क्षेत्रमा करिब ८० अर्ब लगानी भएको छ । यस्तै दैनिक ८ लाख २० किलो मासु, दैनिक ३ हजार मेट्रिक टन दाना, दैनिक २२ लाख गोटा अण्डा, प्रति हप्ता १ लाख लेयर्स चल्ला, प्रति हप्ता २५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएको छ । यसैगरी मुलुकभर २१ हजार ब्रोइलर फार्म, १ हजार ४ सय वटा लेयर्स फार्म, १८० वटा ह्याचरी उद्योग, १ सय वटा दाना उद्योग रहेको तथ्यांक छ ।
नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष डा. होमबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा पशु विकास मन्त्रालयका सहसचिव केशवप्रसाद प्रेमी, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, पशुपंक्षी बजार निर्देशनालयका निर्देशक बलराम थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलले पोल्ट्रीको अवस्था र चिकित्सक भोजराज अधिकारीले स्वास्थ्यका लागि अण्डा र मासु विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम हुनुअघि रत्ननगर उद्योग वाणिज्य संघदेखि टाँडीचोक, सौराहाचोक र बकुलहरचोक हुँदै कार्यक्रमस्थल होटल स्टार बैङ्क्वेटसम्म प्रभातफेरी निकालिइएको थियो । पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, पशुपंक्षी बजार निर्देशनालय र कुखुरा व्यवसायी मञ्च चितवनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।