पुस १७ /
उपराष्ट्रपति नन्दबहादुर पुनले धर्मनिरपेक्ष नेपालमा हरेक नेपाली आफूले इच्छाएको धर्म ग्रहण गर्न स्वतन्त्र रहेको बताएका छन् । यशु ख्रिस्टको जन्मोत्सव तथा नयाँ वर्ष २०१८ का उपलक्ष्यमा राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै, “नयाँ संविधान घोषणापछि अब हामी बिल्कुल नयाँ ठाउँमा छौँ । अब पहिलेजस्तो होइन, व्यक्तिले आफूले इच्छाएको धर्म मान्न पाउँछ ।” उपराष्ट्रपतिले अब विवाद र झै–झगडा त्यागेर एक धर्मले अर्कालाई सम्मान गर्ने तथा सद्भाव र मेलमिलापबाट अगाडि बढेर देशलाई समृद्धितर्फ लान सबैलाई आग्रह गरे ।
कार्यक्रममा ख्रिस्टियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालमा धर्मनिरपेक्ष घोषणा भएपछि ख्रिस्टियनले गौरवका साथ नयाँ वर्ष मान्ने अवसर पाएको बताए भने महासंघका पदमनाथ पराजुलीले ख्रिस्टियन समुदायको नयाँ वर्षले सम्पूर्ण नेपालीमा खुशी र उमंग ल्याओस् भन्ने कामना गरे ।
कार्यक्रममा उपराष्ट्रपति पुनलाई धर्मनिरपेक्षता घोषणा तथा यसलाई संस्थागत गर्न गर्नुभएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो । त्यस्तै ३० एल्बम निकाल्नुभएका र इसाई धर्मसम्बन्धी ५०० भन्दा बढी भजन गाउनुभएका गायिका सलोमीलाई सम्मान गरिएको थियो ।