ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर, १६ पुस ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको पर्यटकीय नगर सौराहामा आयोजित १४ औं चितवन हात्ती महोत्सव शनिबार सकिएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा पुस ११ गतेदेखि महोत्सव सुरु भएको थियो ।
महोत्सवको अन्तिम दिन विभिन्न प्रतियोगिता भएका छन् । महोत्सवअन्तर्गत आयोजित ‘हात्ती फास्टवाक’ प्रतियोगितामा लक्कीकली पहिलो भएको छ । टुरिजम बैंकको प्रतिनिधित्व गरेको लक्कीकलीले निर्धारित १ सय २५ मिटरको दूरी ३० सेकेण्डमा पूरा गरेको हो । लक्कीकली १० वर्षअघिको विजेता हो । त्यस्तै हिमालयन सोसल जोर्नीको प्रतिनिधित्व गरेको एकताकलीले निर्धारित दूरी ३१ सेकेण्डमा पूरा गर्दै दोस्रो र कोकाकोलाको अनारकलीले ३५ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए । हात्ती फास्टवाक प्रतियोगितामा २० हात्ती सहभागी थिए ।
महोत्सवअन्तर्गत निकै आकर्षक रहेको हात्तीका छावाहरुबीचको फुटबलमा सिजी फुड्स विजेता बनेको छ । सिजी फुड्सले कुमारी बैंकलाई ३–० गोल अन्तरले पराजित गरेको समितिका संयोजक रेग्मीले बताए । सिजीका लागि खेलको ८ मिनेटमा अमलटारीगजले गोल गर्दै अग्रता दिलाएको थियो । दोस्रो हाफको १७ र २१ मिनेटमा कसरागजले दुई गोल गर्दै नतिजा सिजीको पक्षमा पार्न सफल भयो । गतवर्षदेखि थपिएको हात्तीपोलो प्रतियोगितामा यसवर्ष माउन्ट एभरेष्ट ग्रुप पहिलो भएको छ ।
शनिबार भएको फाइनलमा मेघा बैंकलाई ६–३ गोल अन्तरले पराजित गर्दै एभरेष्ट विजयी भएको हो । एभरेष्टका लागि चन्द्र तामाङले ४ तथा विश्वम्वर चौधरीले २ गोल गरेका थिए । मेघाका लागि भने ठगाहा पजियारले २ तथा सन्तकुमार चौधरीले १ गोल गरेका थिए । हात्ती पोलोमा बेष्ट प्लेयर ठगाहा पंजियार, सर्वाधिक गोलकर्ता चन्द्र तामाङ र फेयर प्लेयरमा केमिका भण्डारी घोषित भए ।
महोत्सवअन्तर्गत नै हात्ती श्रृंगार प्रतियोगिता र हात्ती वनभोज कार्यक्रमसमेत गरिएका थिए । महोत्सवअन्तर्गत आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई समापन कार्यक्रमका प्रमुख अतिथी वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले पुरस्कार प्रदान गरेका थिए । क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षताा भएको समापन कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडी, जिल्ला समन्वय समिति चितवनका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद सुवेदी, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना, चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी, महोत्सव संयोजक दीपक भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।