विप्लव काफ्ले/कायाकैरन
भरतपुर, १६ पुस ।
जंगली मान्छे ‘इकु’ का रुपमा चर्चित सुलेमान शंकर ‘फिर्के’ बन्ने दौडमा छन् । उनी दुब्ला ख्याउटे थिए । अहिले शरीर केही मोटाएको छ । “पहिले ४५ केजी थिएँ, अहिले ५५ केजी भएको छु”, सुलेमानले भने, “टाइगरमा सलमान खान, फिर्केमा सुलेमान, अलि ह्याण्डसम त हुनैप¥यो नि !”
पुस २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘फिर्के’ को प्रचारका लागि चितवन आइपुगेका सुलेमानले नारायणगढमा आयोजित पत्रकार सम्मलेनमा भने, “इकुको अब फरक गेटअप देख्न पाइन्छ, एउटै क्यारेक्टर ग¥यो भनेर धेरै प्रश्न आए, अब इकु ‘फिर्के’ मा परिणत भइसक्यो ।” उनी ६ वर्षपछि इकुबाट फिर्के बनेर देखापर्न लागेका हुन् ।
उनी साना तथा ठूला पर्दामा जंगली मान्छे बनेर अभिनय गरेपनि ‘टिपटप’ नै बनेर हिड्न रुचाउँछन् । तर, टिठ लाग्दो शरीर देखाउँदै अभिनय गर्दै आएका थिए । उनी टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका थिए । उनले ‘इकु’ र ‘इकु ब्याक अगेन’ मा मुख्य नायक बनेर चलचित्रमा देखापरेका थिए ।
उनको पहिलो चलचित्र सफल बनेपनि दोस्रोले सफलता पाउन सकेन । “टेलिभिजनमा इकु बनेर खुबै चर्चा पाएँ, यसपालि फरक भूमिकामा देखिदैछु”, उनले भने, “संघर्ष गरेर फिर्के बनेको छ, सफल बन्छु भन्ने आशा छ ।” उनले १४ औं चितवन हात्ती महोत्सवमा समेत पुगेर चलचित्रको प्रचार गरे । सुलेमानको फिर्के तेस्रो चलचित्र हो । ‘इकु’ बन्नु पहिले उनले अभिनयमा चर्चा कमाएका थिएनन् । “धेरैले इकु किन हरायो भनेको पनि पाएँ, अब हराउँदिन”, उनले भने, “लगत्तै इकु–३ को स्क्रिप्ट तयार हुँदैछ, विदेशमै अधिकांश सुटिङ हुन्छ ।”
इकुको जन्मघर हेटौंडा हो । उनी चितवनलाई खुबै माया गर्छन् । उनी नेपाली चलचित्र ‘भाग्य विधाता’ बाट कलाकारितामा प्रवेश गरेका हुन् । उनी निर्देशक स्व. शिव रेग्मीका चलचित्रका फ्यान थिए । “फिल्म हेरेर एकपटक मात्रै रोएको छु, त्यो फिल्म आफन्त हो, त्यसमा देखाएका पीडाका कथा हेर्दा निकै भावुक भएको थिएँ”, उनले भने, “अहिले उहाँलाई सम्झन चाहन्छु, उहाँको योगदानको कदर गर्छु ।”
कलाकार रवि डंगोल ‘बेइमान’ ले ६ वटा नेवारी फिल्म निर्देशन गरिसकेका छन् । उनी तितो सत्यमा ‘बेइमान’ का रुपमा चर्चित थिए । उनी पहिलोपटक नेपाली चलचित्र फिर्केमा निर्देशकका रुपमा देखापरेका छन् । “चलचित्रमा म बोइमान बनेको छैन, इमान्दारीपूर्वक फिल्म बनाएको छु”, उनले भने, “पर्दा पछाडि छु, नयाँ अनुभव लिदैछु, निर्देशन गरेको छु ।” उनी निर्देशका रुपमा रहेपनि आफू कलाकारितामै रमाउन चाहने बताउँछन् । “फिर्के गाउँबाट शहर पसेको युवाको संघर्ष बोकेको कमेडी फिल्म हो”, उनले भने, “हास्य टिम नै बनाएर धेरै मिहेनत गरेर फिल्म बनाएका छौँ ।”
उनले २०५४ सालमा पहिलो पटक ‘मेरो देश’ सडक नाटकमा अभिनय गरेका थिए । त्यो नाटक स्वं शिव रेग्मीले लेखेका थिए । “नारायणगढ आउँदा शिव दाइको खुबै याद आउँछ”, उनले भने, “आफन्तमा पनि अभिनय गरेको थिएँ, उहाँ जस्ता सर्जक गुमाउनुपर्दा निकै दुःख लाग्छ ।” फिर्केको कथा एक वर्ष लगाएर लेखिएको उनी बताउँछन् ।
“छक्कापञ्जाका लेखक अभिमन्यु निरवीले लेख्नुभएको छ”, उनले भने, “फिल्म निकै फरक स्वादको छ ।” फिल्मा अञ्जु पन्त, रामचन्द्र काफ्ले, विश्व नेपाली, जूना प्रसार्इंको स्वरमा रहेका दुई गीत छन् । केही द्वन्द्वका दृश्य पनि छन् । सुलेमान गाउँबाट शहर पुगेर ‘अपहरणकारी’ का रुपमा देखिदैछन् । चलचित्रका निर्माता राजेश श्रेष्ठले चलचित्रमा झण्डै १ करोड खर्च लागेको बताउँछन् ।
“समाजमा रुचाउने कथानै बनाएका छौँ, लगानी सुरक्षित हुने र दर्शकले रुचाउने गरी बनाएका छौँ”, उनले भने, “गाउँबाट शहर छिरेको युवा कसरी फटाहाको जालमा पर्छ भन्ने देखाएका छौँ ।” चलचित्र २१ गते काठ्माण्डौका २५ र उपत्यका बाहिरका ४० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुने जनाइएको छ । अष्ट्रेलिया, जापान, कोरिया र अमेरिकाका सिनेमा घरमा पनि चलचित्र देखाउन लागिएको छ ।