ध्रुवराज खनाल/कायाकैरन
सौराहा,१५ पुस । पर्यटकीय क्षेत्र सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सवअन्तर्गत हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पूजाकलीले जितेको छ । शुक्रबार भएको प्रतियोगितामा सहभागी ५ वटा हात्तीमध्ये उत्कृष्ट ठहरिदै पूजाकलीले यसवर्षको सुन्दरीको उपाघि जितेको हो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाद्वारा सञ्चालित करिब ३५ वर्षको पूजाकलीले १०० पूर्णांकमा ७८.६ अंक प्राप्त गर्दै सुन्दरीको ताज पहिरिएको हात्ती व्यवस्थापन तथा खेलकुद समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । प्रतियोगितामा पुष्पाकली फस्ट रनरअप हुँदा बिजुलीकली सेकेन्ड रनरअप भए । एलिसाकली र सेल्फीकलीले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए ।
हात्तीको सरसफाइ, सजावट, आनीबानी, अनुशासन, हिडाइ, माहुतेको व्यवहारलगायत आधार मानेर मूल्यांकन गरिएको हो । हात्ती महोत्सवअन्तर्गत सुन्दरी प्रतियोगितालाई आकर्षणको रुपमा लिइन्छ । हात्ती सुन्दरी प्रतियोगिता हेर्नका लागि सहभागी दर्शकको उत्साह निकै देखिन्थ्यो । महोत्सवअन्तर्गत हात्ती फास्ट वाकको फाइनलमा ६ वटा हात्ती प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि १२ वटा हात्तीबीच प्रतिस्पर्धा भएको थियो ।
खेलकुद समितिका संयोजक तिवारीका अनुसार समूह ‘क’ बाट कोकाकोलाबाट प्रतिनिधित्व गरेको अनारकली, एरा हेल्थ सेन्टरको बम्बोजकली र रत्ननगर नगरपालिकाबाट प्रतिनिधित्व गरेको रानीमायाकली फाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै समूह ‘ख’ बाट हिमालयन सोसल जोर्नीको एकताकली, टुरिजम वैंकको लक्कीकली र मनकामना दर्शन प्रालिबाट प्रतिनिधित्व गरेको चम्पाकली अन्तिम चरणमा प्रवेश गरेका हुन् ।
हात्ती फास्टवाकको फाइनल शनिबार हुनेछ । त्यस्तै हात्तीको फुटबल प्रतियोगिताको फाइनलमा कुमारी बैंक र सिजी फुड्स भिड्ने भएका छन् । पहिलो सेमीफाइनलमा कुमारी बैंकले मेघा बैंक तथा सिजी फुड्सले प्रभु बैंकलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् । प्रभु बैंक अघिल्लो संस्करणको विजेता हो ।
महोत्सवमा अर्को आकर्षणको रुपमा लिइएको हात्ती वनभोज कार्यक्रम बिहीबार भएको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनले प्रत्येक वर्ष हात्ती महोत्सव गर्दै आइरहेको छ । यही पुस ११ गते सुरु भएको महोत्सवको आज शनिबार समापन गरिदै छ । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए । महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।