भरतपुर, १५ पुस ।
चितवनमा नेपाली टोपी दिवस मनाइने भएको छ । ब्रदर्श नेपालको संयोजनमा चितवनमा ¥याली निकाल्ने तयारी गरिएको छ । अंग्रेजी नयाँ वर्षकै दिन नेपाली राष्ट्रप्रेमी संघसंस्थाको अगुवाइमा देशभर केही वर्षयता टोपी दिवस मनाउन थालिएको हो ।
पर्सि १७ गते सोमबार बिहान १० बजे नारायगणढस्थित पुलचोकबाट निस्कने ¥याली चौबिसकोठी हुँदै प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा सांगीतिक कार्यक्रममा रुपान्तरण हुनेछ । सो अवसरमा नेपाली टोपीको महिमा झल्काउने सडक नाटक, नृत्य तथा मन्तव्य व्यक्त गर्ने गरी कार्यक्रम तालिका बनाइएको छ ।
सो अवसरमा वी युनिट क्लब, रोट्¥याक्ट क्लब अफ नारायणगढ, पिसिएम स्टुडेन्ट, इको सर्भिस बालकुमारी, क्लब अफ इन्भारोनमेन्टल साइन्स सप्तगण्डकीसहितका संस्थाले सहभागिता जनाउँदै छन् । झण्डै एक दर्जन फेसबुक ग्रुपमा आबद्ध युवा पनि कार्यक्रममा सहभागी हुँदैछन् । “विगतमा हामीले दुईपटक दिवस मनायौँ, धेरै प्रचार भएन”, ब्रदर्श नेपाल चितवनका सचिव विशाल कोइरलाले भने, “यसपालि धेरै संघसंस्थाले सहभागिता जनाउँदैछन्, कार्यक्रम भव्य हुने अपेक्षा गरेका छौँ ।” उनले नेपाली परम्परा, राष्ट्रियतासँग जोडिएको पोशाक भएकाले टोपी महिमाको चर्चा गर्नु आवश्यक रहेको बताए ।
“दशैं वर्षमा एकपटक मनाइन्छ, सकिन्छ वर्षभरि नेपाली टोपी लगाऔँ, सकिदैन वर्षमा कम्तीमा एक दिन लगाउने बानी बसालौँ”, उनले भने, “संस्कृतिकै रुपमा टोपी लगाउने वातावरण बनाउनु हामी सबैको दायित्व हो ।” उनले नयाँ पुस्ताले नेपाली टोपीबारे अनविज्ञ नबनून् भनेर वर्सेनि दिवसका रुपमा मनाउन थालिएको उनको भनाइ छ । पाश्चात्य संस्कृतिको प्रभावकै कारण नेपाली पहिचान लोप हुने अवस्थामा पुगेको उनले बताए । अंग्रेजी नयाँ वर्ष मनाइरहँदा कम्तीमा नेपाली टोपी लगाउने बानीमात्रै बसालेपनि यो परम्पराले निरन्तरता पाउने उनले बताए ।
रोट्¥याक्ट क्लब अफ नारायणगढकी पूर्वअध्यक्ष इशा प्रधानले युवा सहभागिताले नेपाली पहिचान जोगाउन सम्भव हुने बताइन् । “नेपाली टोपी नेपाली शान हो, चाडबाड, विशेष अवसरमा मात्रै होइन, सकेसम्म हरेक दिन लगाउने संस्कार विकास गर्नुपर्छ”, उनले भनिन्, “विश्वसामु चिनाउने नेपाली टोपि लगाउने परम्परा लोप हुन दिनुहदैन, सबैले जगेर्ना गर्नुपर्छ ।”