रत्ननगर, १५ पुस ।
रत्ननगर–१ स्थित हंस बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाले सेवा लिएका छन् । संस्थाले स्थापना दिवसको अवसर पारेर शुक्रबार रत्ननगरको सौराहाचोकमा शिविर आयोजना गरेको हो ।
चितवन मेडिकल कलेजको सहकार्यमा आयोजित शिविरमा विभिन्न स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, दन्तरोग, नाक, कान, घाँटीरोगलगायत सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्य शिविरमा ईसीजी, भिडियो एक्स–रे, अल्ट्रासाउण्डसहितको सेवा उपलब्ध गराइएकाले उत्साहजनकरुपमा बिरामीको सहभागिता रहेको हंस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । शिविरमा सेवाग्राहीको सहभागिताले आफूहरु उत्साहित भएको भन्दै अध्यक्ष चुकेले ग्रामीण क्षेत्रका जनतालाई सेवा प्रदान गर्न तयार रहेको बताए ।
स्वास्थ्य परीक्षणका लागि कालिका नगरपालिकाको शक्तिखोरदेखि रत्ननगरसम्म बिरामी आएका थिए । स्वास्थ्य जाँच गराइएकालाई आवश्यकताअनुसार औषधि निःशुल्क वितरण गरिएको अध्यक्ष चुकेले जानकारी दिए । चितवन क्षेत्र नम्बर एक प्रदेश सभा सांसद् कृष्ण खनालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष चुकेको अध्यक्षतामा भएको सो शिविरको उद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय न्यौपाने, चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्साललगायतले मन्तव्य व्यक्त गरेका थिए ।