भरतपुर, १४ पुस ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडाभर रहेका १२ देखि २३ महिनासम्मका सबै बालबालिकाले आवश्यक खोप लिइसकेपछि यो वडालाई शुक्रबार पूर्ण खोप घोषणा गरिएको हो । कविलास स्वास्थ्यचौकीमा शुक्रबार आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पूर्ण खोप वडा घोषणा गरिन् । यो वडाले साविक कविलास गाविसको सबै क्षेत्र समेटेको छ ।
पूर्ण खोप घोषणापछि सम्बोधन गर्दै दाहालले बालबालिका तथा मातृ सुरक्षा कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्ने बताइन् । उनले वडा नम्बर २९ ले सफलताका साथ खोप अभियान पूरा गरेकोमा कविलास स्वास्थ्यचौकीलाई धन्यवाद दिइन् । पूर्ण खोप घोषणालाई अभियानको रूपमा अगाडि बढाउनु पर्ने बताउँदै भरतपुर महानगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन् । भरतपुर महानगरपालिका प्रभावकारी स्वास्थ्य सेवा दिन सक्षम रहेको भन्दै सबैको सहयोगले त्यसलाई अझ प्रभावकारी बनाइने उनको भनाइ छ ।
कविलास स्वास्थ्यचौकी इञ्चार्ज भविश्वर अधिकारीले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत कविलास स्वास्थ्यचौकीले वडाभरका सबै घरघरै गणक पठाएर गरेको सर्वेक्षणमा जन्मेदेखि १ वर्षसम्मका १४४ र १ देखि २ वर्षसम्मका १४१ जना बालबालिका फेला परेका थिए । खोप सर्वेक्षणमा १२ देखि २३ महिनासम्मका ८७ जना सबै बालबालिकाले खोप लगाएको पाइएपछि वडालाई पूर्ण खोपयुक्त बनाइएको स्वास्थ्यचौकी प्रमुख भविश्वर अधिकारीले जानकारी दिए । “वडाभर ८७ जना (१२ देखि २३ महिनासम्मका) बालबालिकालाई सबै खोप लगाइएको छ”, उनले भने, “सबै बालबालिकाले पूरै खोप लिएपछि पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।”
कार्यक्रममा उनले प्रस्तुत गरेको प्रतिवेदनमा सबै बालबालिकाले जन्मेदेखि १५ महिनाको उमेरभित्र बीसीजी, डीपीटी हेप,–बि.हिबको ३ मात्रा, पीसीभीको ३ मात्रा, पोलियो ३ मात्रा, ९ र १५ महिनाको उमेरमा लगाइने दादुरा रूबेलाको २ मात्रा र १ वर्षको उमेर पूरा भएपछि जे.ई.को १ मात्रा लगाउनुपर्ने उल्लेख गरिएको छ ।
कविलासको सेवा क्षेत्रभित्र जुगेडी, भोर्ले, चौकी, सिमलताल र ढोडेनीमा खोप केन्द्र सञ्चालन गरिएका छन् । त्यस्तै ३ स्थानमा गाउँघर क्लििनक र २ स्वास्थ्य संस्था कविलास स्वास्थ्यचौकी र सामुदायिक स्वास्थय इकाई चौकीबाट नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्यचौकीका सिनियर अ.हे.ब.दिवाकर अधिकारीले जानकारी दिए ।
बहुसंख्यक जनजाति बसोवास गर्ने वडा भएपनि आफ्नो बालबालिकालाई खोप लगाउनुपर्ने चेतना वडाबासीमा बढ्दै गएको आफूले पाएको स्वास्थ्य संस्थाकी अ.न.मि.कल्पना रानाभाटले बताइन् ।
भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु ज्ञवालीले ११ थरि रोगका ७ थरि खोप लगाउनुपर्ने बताए । नेपाल सरकारले सबै बालबालिकालाई यी सबै खोप निःशुल्क लगाउँछ । “पैसामा हेर्ने हो भने यो ४५ सय बराबर मूल्यको हो”, उनले भने, “तर, निःशुल्क गरेर सरकारले धेरै जोड दिएको पुष्टि हुन्छ ।” भरतपुरका २९ वडामध्ये १५ वडा पूर्ण खोपयुक्त घोषणा भएपनि अझै १४ वडा घोषणा हुन बाँकी छन् । तिनीहरुलाई आगामी सन् २०१८ सम्म घोषणा गरिसक्ने उनले बताए ।
“२०१७ सम्म घोषणा गरिसक्नुपर्ने हो”, उनले भने, “तर, सकिएन । अब हामी सबै वडा प्रतिनिधि बोलाएर सचेतनासहित कार्यक्रम छिटो गर्न भन्छौं ।”
जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले देशभरका ३३ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेको बताउँदै चितवनमा पनि प्रगति भइरहेको बताए । उनले पूर्ण खोप घोषणा हुँदैमा दायित्व नसकिएको भन्दै आगामी दिनमा पनि यसको अवस्था नियालिरहनुपर्ने बताए ।
कविलास महानगरको गहनाः दाहाल
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुर–२९, कविलास महानगरको गहना भएको बताएकी छन् । पूर्ण खोप वडा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले पर्यटकीय हिसाबले यो वडाले समग्र जिल्लालाई नै ठूलो योगदान गर्न सक्ने बताइन् । “गर्मीमा पनि सिरक ओढ्नुपर्ने यो ठाउँ विशेष छ”, उनले भनिन्, “भरतपुरका २८ वडा समथर छन्, यो पहाडले भरिएको छ, पहाड देखाएरै हामी पर्यटक ल्याउन सक्छौं ।” केही दिनअघि कविलासको उच्च क्षेत्र चौकीडाँडा पुगेर आएको भन्दै उनले त्यस क्षेत्रको पर्यटन विकास गरेरै छाड्ने उद्घोष गरिन् । “त्यहाँ मुख्य समस्या खानेपानीको रहेछ”, उनले भनिन्, “अनि बाटो रहेछ, यी दुई चिज विकास गरेपछि पर्यटक लैजान सकिन्छ, राख्न सकिन्छ ।” आसन्न नगर सभाले यस क्षेत्रको सम्भावना पहिचान गरेर केही न केही निर्णय गर्ने उनले बताइन् ।
वडा नम्बर २९ का वडाध्यक्ष मनबहादुर मगरले वडा नम्बर २९ मा धेरै सम्भावना भएकाले महानगरले यसको उपयोग गर्नुपर्ने बताए । “गाईघाटदेखि देवघाट हुँदै गोलाघाटसम्म ¥याफ्टिङ चलाउन सकिन्छ”, उनले भने, “यसले रोजगारी र आम्दानी बेस्सरी बढाउँछ ।” उनले कविलासको जनजाति बाहुल्य उच्च भागमा गुम्बा बनाएर विशेष पर्यटकीय क्षेत्र बनाउन सकिने बताए । “हामी काठमाडौं र पोखरा जाँदा डाँडामा गुम्बा देख्छौं”, उनले भने, “यहाँ पनि तलबाट हेर्दैमा जाउँजाउँ लाग्ने गुम्बा बनाउन सकिन्छ, भ्यू टावर बनाउन सकिन्छ । त्यसले सौराहा गएर फर्किने पर्यटकलाई माथिसम्म लैजान सकिन्छ ।”
कार्यक्रममा सम्बोधन गर्दै वडा नम्बर २९ का वडासचिव प्रधुब्न खड्काले साविक कविलास गाविसलाई भरतपुर महानगरको नमूना वडा बनाउने सम्भावना धेरै रहेको बताए । साथमा पूर्व गाविस अध्यक्ष धनकीलाल गुरुङ, नेपाली कांग्रेसका पार्टी प्रतिनिधि सूर्यबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका वडाध्यक्ष गणेशबहादुर गुरुङ, कविलास माविका प्रधानाध्यापक घनकान्त घिमिरेलगायतले कविलासको सम्भावनाबारे मन्तव्य व्यक्त गरेका थिए । कविलासमा कूल जनसंख्या ६ हजार ६ सय ५० जना रहेको छ । यो वडाले साविकको कविलास गाउँ विकास समितिले समेटेको भूगोल सबै समेट्छ । भरतपुर उपमहानगरपालिका स्तरोन्नति भएर महानगर बन्नेबेला कविलासपनि यतै गाभिएको हो ।