विनोदबाबु रिजाल
भरतपुर, १४ पुस ।
चितवनको प्रतिष्ठित फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको १३ औं संस्करण आगामी फागुन ८ गतेबाट सुरु गरिने भएको छ ।
यसअघि पुस २० गतेबाट आयोजना गर्ने भनिएको प्रतियोगिता कतिपय ‘ए’ डिभिजन क्लबहरुको खेलतालिकाले गर्दा प्रभावित भएपछि डेढ महिना पछाडि सारिएको हो ।
टुबोर्ग वियरको शीर्ष प्रायोजनमा रहेको प्रतियोगितालाई टुबोर्ग बिकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता भनिएको छ ।
प्रतियोगितामा कम्तीमा १२ वटा टिमको सहभागिता रहने प्रचारप्रसार समिति संयोजक मञ्जुल प्रधानले जानकारी दिए । प्रतियोगिताका लागि तयारी दु्रत बनाइएको उनले जानकारी दिए ।
प्रतियोगिताको विजयीले यसपालि पनि गतवर्षको जस्तै ३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले डेढ लाख पाउने मूल संयोजक विकास शिल्ड समिति अध्यक्ष श्यामकुमार पियाले जानकारी दिए । यसपालि क्याम्पाचौरको रुप अझै आकर्षक बनाउने तयारीमा समिति छ । गतसाल फलामको प्याराफिट हालेर क्याम्पाचौरलाई रंगशालाको झल्को दिइएको थियो । यसपालि अझै लामो र अझै बलियो प्याराफिट बनाउन लागिएको छ ।
गतसाल आर्मीलाई हराएर काठमाडौंको ए डिभिजन क्लब संकटाले १२ औं रनिङ शिल्ड जितेको थियो ।