धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१४ पुष ।
क्षेत्रीय होटल संघ नेपाल चितवनले सौराहामा विनाजानकारी ‘हर्न निषेध’ गरेको भन्दै रत्ननगर नगरपालिकाले असन्तुष्टि जनाएको छ । स्थानीय सरकार नगरपालिका भएपनि समन्वयविनै यस्तो घोषणा गरिएको भन्दै रत्ननगर नगरपालिकाले सौराहाका होटल व्यवसायीको संगठन क्षेत्रीय होटल संघप्रति असन्तुष्ट बनेको हो ।
क्षेत्रीय होटल संघले हात्ती महोत्सवको पत्रकार सम्मेलनको अवसर पारेर यही पुस १ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलाई बोलाएर सौराहालाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । नगरपालिकाभित्रै यस्तो कार्य हुँदासमेत जानकारी नगराइएको नगर प्रमुख नारायण वनले बताए । “सौराहालाई हर्न निषेध घोषणा गर्ने विषयमा सामान्य कुरा भएको थियो”, नगर प्रमुख वनले भने, “तर घोषणा गर्दा हामीसँग कुनै समन्वय भएको छैन ।” हर्न निषेधको विषयले नगर कार्यपालिकाको बैठकमा बिहीबार मात्रै प्रवेश पाएको छ । स्थानीय सरकारसँग समन्वय गरी नीतिनियम बनाएर मात्रै घोषणा गरिनुपर्ने नगर प्रमुख वन बताउँछन् । “हर्न निषेध भनेपछि केही नियम त बनाउनु पर्ला नि”, नगर प्रमुख वनले प्रश्न गर्दै भने, “तर व्यवसायीले आफूखुसी यस्तो निर्णय गर्न पाउँदैनन् ।” व्यवसायीले आफ्नो हकहित, पर्यटन प्रवद्र्धनको गर्नुपर्नेमा नगरपालिकालाई नै चुनौती दिने गरी काम गरेको देखिन्छ । “कुनै काम गर्नुपरे समन्वय र साझेदारीमा गर्न नगरपालिका तयार छ” नगर प्रमुख वनले भने, “पर्यटन व्यवसायीले आफ्नो हकहित अनि पर्यटन प्रवद्र्धनको काम गर्नुपर्छ ।”
हर्न निषेध घोषणाबारे क्षेत्रीय होटल संघले गल्ती स्वीकार गरेको नगर प्रमुख वनले बताए । “संघले गल्ती स्वीकारिसकेको छ”, नगर प्रमुख वनले भने, “हर्न बजाउँदाको जरिवाना, कुन क्षेत्रबाट कहाँसम्म बजाउन नपाउने भन्ने विषयमा छलफल गरेर नगर कार्यपालिकाको बोर्ड वैठकबाट निर्णय गरिन्छ ।”
यता क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष दीपक भट्टराई भने आधिकारिकरुपमा सौराहालाई हर्न निषेधित क्षेत्र घोषणा नगरिएको बताउँछन् । “पुस १ गतेको पत्रकार सम्मेलनमा मेयरकै उपस्थितिमा हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी थियो”, संघका प्रथम उपाध्यक्ष भट्टराईले भने, “त्योबेला मेयरको अनुपस्थितिले आधिकारिकरुपमा घोषणा हुन सकेन, अहिले जनचेतना जगाउने मात्र काम भएको छ ।” एक महिनाको अवधिलाई परीक्षण अवधिको रुपमा लिइएको र त्यसलाई एक महिनापछि पूर्णरुपमा आधिकारिकता दिइने उनले बताए । पुस पहिलो साताको शनिबारबाट यही पुस १५ गतेसम्म प्रचारप्रसार अवधिको रुपमा लिई जनचेतना जगाउने र स्थानीयस्तरमा सन्देश प्रवह भइरहेको छ । तर, त्यसको प्रभाव भने परेको देखिदैन ।