भरतपुर,१४ पुष ।
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले तमू ल्होछार विशेषरुपले मनाउँदै छ । पुस १५ गतेका दिन परेको ल्होछार पर्वका अवसरमा ३ दिन जिल्लास्तरीय कार्यक्रमका रुपमा मनाउन सुरु गरेको छ ।
भरतपुर–२ मा रहेको तीनखोले गुम्बालाई सजाउने, सरसफाई गर्ने काम भएका छन् । तमू ल्होछार पर्व मूल समारोह समितिका संयोजक गणेबहादुर गुरुङले कार्यक्रम सफल पार्न १ सय १ सदस्यीय मूल समारोह समिति गठन भएको बताए । उनका अनुसार २६ वटा उपसमितिहरु गठन भएका छन् । गुरुङहरुको नयाँ वर्ष प्रारम्भ हुने दिनका रुपमा वर्षेनी ल्होछार पर्व मनाउने गरिन्छ । ल्हो भन्नाले वर्ग र छारको अर्थ नयाँ हो । ल्होछारलाई कतैकतै ल्होसार पनि भनिन्छ । यो पर्वले तमू समुदायलाई भेटघाट गर्ने अवसर जुटाउने गर्छ । पर्वका अवसरमा लामा, घ्याप्री, पच्युले स्वस्ति शान्ति समेत गर्छन् ।
“संस्कृति जगेर्नाका लागि हामीले नियमित साना ठुला पर्वलाई मनाउँदै आइरहेका छौँ”, उनले भने, “गुम्बामा पूजा गर्ने, शुभकामना आदानप्रदान गर्ने, सामाजिक काम समेत गर्दै यसवर्ष पनि पर्व मनाउँदै छौँ ।” शुक्रबार विहान छेलो फाल्ने, म्युजिकल चियर, घैटो फुटाउने लगायतका खेलकुद, साँझ लोक नृत्य, सामूहिक नाच, प्रार्थनालगायत गतिविधिहरु हुनेछन् ।
यस्तै मुख्य दिन भोलि पुस १५ गते पूजा, स्वस्ती शान्ति, हवन, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, बालबालिकाबीच खेलकुदका कार्यक्रम गरिदैछ । यस्तै सोहि दिन निलम र रोहित स्मृति पुरस्कार वितरण, सम्मान लगायतका कार्यक्रम हुनेछन् । यस्तै १६ गते दिउसो आयव्यय विवरण सार्वजनिक गरिनेछ ।
“२ लाख ९२ हजार खर्च हुने अनुमान छ”, मूल समारोह समितिका सहसंयोजक योगमाया गुरुङले भनिन्, “स्वेच्छा र प्रयोजकबाट खर्चको व्यवस्थापन गर्दैछौँ, बचत हुने रकमलाई सामाजिक काममा लगानी गर्नेछौँ ।” जिल्लामा झण्डै ७० वटा गुम्बाहरु छन् । झण्डै तीन दजर्न गुम्बामा ल्होछार पर्व विशेष रुपले मनाउने छन् ।