विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१४ पुष ।
पवन डेरी चितवनका सञ्चालक पवन बास्तोलाले झण्डै दुई करोड खर्चेर ‘अटोमेटिक प्लान्ट’ जडान गरे । तर, काम गर्ने जनशक्ति सहजै पाउने अवस्था नदेखेपछि उनमा चिन्ता बढेको छ ।
“राम्रो अपरेटर अब कहाँबाट ल्याउने भन्ने चिन्ताले सताएको छ”, उनले भने, “भारतबाटै जनशक्ति मगाउनुपर्ने अवस्था छ, आएका जनशक्ति पनि कहिले छोडेर जान्छन् भरै छैन, स्वदेशी दक्षजनशक्ति नपाउँदा नियमित उत्पादन गर्न मुस्किल पर्ने देखिएको छ ।” उनले सञ्चालन गरेको डेरीमा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनलाई मात्रै होइन, दक्ष कामदारको खाँचो अरुलाई पनि उस्तै छ ।
कुल ग्राहस्थ उत्पादनमा दुग्ध क्षेत्रले करिब ९ प्रतिशत योगदान गरेको छ । दुग्धजन्य उद्योगमा झण्डै २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको नेपाल डेरी एशोसिएशनले जनाएको छ । झण्डै १५ अर्ब बढी लगानी भएको छ । “दुग्धजन्य सानाठूला उद्योगमा रोजगारीका प्रशस्तै अवसर छन्”, नेपाल डेरी एशोसिएशनका अध्यक्ष सुमित केडियाले भने, “रोजगारी खोज्दै विदेशिने क्रम उस्तै छ, यहाँ हामी जनशक्ति अभावमा रुमलिरहेका छौँ ।” उनले दुग्धजन्य उद्योगमा धेरै जनशक्तिका लागि छिमेकी मुलुककै भर पर्नुपरेको बताए । “अब दक्ष जनशक्ति उत्पादन गर्न डेरी प्राविधिक शिक्षालय बनाउनुपर्छ भनेर तीन वर्षयता माग गर्दै आइरहेका छौँ”, उनले भने, “बेरोजगारीको पीडामा रहेका युवालाई हाम्रा उद्योगका सम्भावनाका क्षेत्रमा रोजगारी दिन चाहन्छौँ, तर, त्यो अनुसारका तालिम, दक्षता नहुदा निकै समस्या परेको छ ।”
नेपालको पहिलो डेरी स्थापना भएको क्षेत्र काभ्रेको नाला टुसालमा शिक्षालय बनाउन माग गरेपनि सम्बोधन हुन नसकेको उनले बताए । “नीजि सार्वजनिक साझेदारी वा नीजि क्षेत्रको लगानीमा बनाउन सकिन्छ”, उनले भने, “योतर्फ राज्यलेनै सोचेन, हामी चिन्तित छौँ ।” उनले एशोसिएशनको ७ औं राष्ट्रिय महाधिवेशनले यो एजेण्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । एशोसिएशनको १९ औं वार्षिक साधरणसभा तथा ७ औँ राष्ट्रिय महाधिवेसन आगामी पुस २७ र २८ गते काठमाडौंमा हुँदैछ ।
त्यही सिलसिलामा चितवन आइपुगेको एशोसिएशनका पदाधिकारीसहितको टोलीले बिहीबार पत्रकार सम्मेलन गरेको थियो । सो अवसरमा ६ बुँदे मागलाई विशेष प्रस्तावका रुपमा राष्ट्रिय महाधिवेसनमा लगिने केडियाले बताए । उनका अनुसार प्राविधिक शिक्षालय स्थापना, भूकम्पप्रभावित क्षेत्रमा एक परिवार एक गाई वा भैंसी उपलब्ध गराउनुपर्ने, स्वच्छ दूध उत्पादनको लागि किसानसँग सहकार्य गर्ने, नेपाल प्रहरी र नेपाली सेनाको रासनमा अनिवार्यका रुपमा दूध र दुग्धजन्य पदार्थको उपभोग बढाउने नीति बनाउन पहल गर्ने जस्ता एजेण्ड अघि सारिने छ ।
लागत तुलनामा मूल्य कम
चितवनमा ७ वटा ठूला डेरी उद्योग सञ्चालनमा छन् । झण्डै ३ लाख २० हजार लिटर दूध चितवनमा दैनिक उत्पादन हुन्छ । जसमध्ये १ लाख २० हजार दूध स्थानीय बजारमा खपत हुन्छ । झण्डै २ लाख लिटर दूध काठमाडौं, पोखरा तथा वीरगञ्ज पुग्छ । जिल्लामा रहेको ठूलो धुलो दूध (पाउडर दूध) कारखाना ‘चितवन मिल्क’ बन्द अवस्थामा छ । दैनिक डेढ लाख लिटर दूध खपत गरेर १५ टन पाउडर दूध उत्पादन गर्दै आएको सो उद्योगले प्रतिस्पर्धा गर्न नसकेपछि हाल बन्द अवस्थामा छ ।
“दुग्ध उत्पादनबाट आत्मनिर्भर बनाएर निर्यातलाई प्रोत्साहन गर्नुपर्छ”, नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले भने, “राज्यले दूध उत्पादन लागत घटाउने नीति ल्याउनुपर्छ, जसले दुग्ध व्यवसाय र किसानलाई नै प्रोत्साहन हुनेछ ।” उनले आयातित दुग्धजन्य वस्तुसँग प्रतिस्पर्धा गर्नै समस्या परेको बताए । “दूध उत्पादनमै लागत बढी छ, प्रशोधन गरी दुग्ध परिकार बनाउँदा पनि लागत बढी नै पर्ने अवस्था छ, जसले प्रतिस्पर्धा निकै चूनौतीपूर्ण बनेको छ ।” उनले दुग्ध उत्पादनमा लाग्दै आउने ‘भ्याट’ शतप्रतिशत छुट दिनुपर्ने बताए । “आइसक्रिम, घिउ तथा पनिरमा कर लाग्छ, पछि ५० प्रतिशत फिर्ता हुने व्यवस्था छ”, उनले भने, “हामी शतप्रतिशत छुट हुनुपर्छ भन्ने माग गरिरहेका छौँ ।” उनले डेरी उद्योगलाई ५० प्रतिशत विद्युत् महसुलमा छुट, सहज कृषि कर्जाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।