भरतपुर महानगरपालिकाले २० वर्षमा भएको स्थानीय सरकारको चुनावबाट नयाँ ढंगको जनप्रतिनिधि पायो । चुनावअघि ठुल्ठूला विकास र समृद्धिका भाषण गरिएका थिए । आकर्षक नारा र सुन्दर कल्पना समेटिएका घोषणापत्र बनाइएका थिए । रुप नदेखिएको ‘स्मार्ट सिटी’ को आवाज आम नागरिकको दिमागमा प्रतिध्वनित गराइएका थिए । अब विकास होला भनेर आमनागरिकमा आशाको सञ्चार भएको थियो । तर, पाँचौं महिना बितिसक्दा पनि नागरिकले थोरै फरकसम्म अनुभूति गर्न सकेका छैनन् ।
सरकारी अस्पतालमा ज्येष्ठ नागरिक र महिलालाई बहिरंग सेवामा टिकट शुुल्क फ्री र दुई बसपार्कमा वाईफाई फ्री गरेर कामको सुरुआत गर्न खोजेपनि स्मार्ट सिटी बनाउने ठूलो सपनाको अगाडि यी काम नागरिकको आँखाबाट ओझेल परे । पूर्वाधार र विकास निर्माणको जग बसिसक्नुपर्ने समयमा नगर सभाको बैठकसमेत बस्न नसक्दा महानगरको मुहार फेरिएला र ? भन्ने आशंका आमनागरिकमा देखिन लागेको छ । थप अधिकारसहित नयाँ प्रतिनिधि आउँदा पनि उही नियति, उही शैलीले निराशा उत्पन्न गराएको छ । अब विकास र निर्माणको कामसँगै कार्यशैलीमा पनि परिवर्तनको आवश्यकता छ ।
पूर्वाधार विकास र निर्माणका कार्य नगर सभाको कारण रोकिएपनि महानगर र सम्बन्धित कार्यालयको आन्तरिक व्यवस्थापनमा पनि त्यति सुधार आउन सकेको देखिदैन । पाँच महिनापछि बल्ल नगर सभाको तयारी हुँदैछ, एउटा आशा र खुसीको कुरा पनि हो । यसै आसन्न नगर सभालाई सम्बोधन गर्दै माहानगरको लागि अति आवश्यक केही मेरा व्यक्तिगत सुझावलाई बुँदागतरुपमा उल्लेख गरेको छु ।
१. महानगरका सबै निर्वाचित प्रतिनिधि र कर्मचारी महानगरको विकास र सर्वसाधारणको सेवाप्रति उत्तरदायी हुनुपर्छ । साथै आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ बहन गर्नुपर्छ । यसको लागि हरेकको समय व्यवस्थापन सही ढंगले गर्नुपर्छ । प्रतिनिधिले खेताला होइन नाइकेको भूमिका निर्वाह गर्नुपर्छ ।
२. महानगर कार्यालय र वडाबाट दिइने सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्छ । घण्टौं लाइनमा बस्नुपर्ने, कुर्नुपर्ने बेथितिको अन्त्य होस् । प्रतिनिधि वा कर्मचारीलाई कति समय कुर्ने त्यो जानकारी सेवाग्राहीलाई हुनुपर्छ । त्यसको व्यवस्थापन हुन जरुरी छ ।
३.आवश्यक कर्मचारीको भर्ना र महँगीअनुसार कर्मचारीको तलब समायोजन हुनुपर्छ ।
४.महानगर वा वडा कार्यालयमा भएका स्रोत र साधनको उचित र प्रभावकारी प्रयोग गरिनुपर्छ । दुरुपयोगलाई निरुत्साहित गर्नुपर्छ ।
५. महानगर कार्यालाय र वडा कार्यालय वातावरणमैत्री, नयाँ प्रविधिमैत्री, सेवाग्राहीमैत्री, अपांगमैत्री, ‘इन्नोसेन्टमैत्री’ हुनुपर्छ ।
६. आवश्यक पर्ने आकस्मिक सेवाका स्रोत, साधन र पूर्वाधारको पूर्णरुपमा व्यवस्थापन हुनुपर्छ ।
७. सबै ठाउँमा आधारभूत भौतिक पूर्वाधारजस्तै बाटो, बिजुली, पानी, टेलिफोन, इन्टरनेटको पहुँच हुनुपर्छ ।
८. नगरभित्रका भूमिविहीन तथा सुकुमबासीको उचित व्यवस्थापन गरिनुपर्छ ।
९. नहर र आधुनिक कृषि प्रणालीको विकासमा जोड दिनुपर्छ ।
१०. फोहरमुक्त नगर अभियान र फोहरको स्थायी व्यवस्थापन गरिनुपर्छ । नगरका विभिन्न ब्यस्त ठाउँमा सार्बजनिक शौचालयको व्यवस्था गरिनुपर्छ ।
११. बजार व्यवस्थापन गरिनुपर्छ ।
१२. सडक र ढलको स्तरोन्नति गरिनुपर्छ ।
१३. सुरक्षा र ट्राफिक व्यवस्थापन चुस्त रहनुपर्छ ।
१४. सरकारी स्कुल को स्तरोन्नति गरिनुपर्छ ।
१५. हरेक वडामा निःशुल्क सामुदायिक स्वास्थ केन्द्रको स्थापना गरिनुपर्छ ।
१६.निश्चित औद्योगिक क्षेत्र निर्माण गरिनुपर्छ ।
१७. महानगरभित्रका सम्पदा संरक्षण, निर्माण तथा व्यवस्थापन गरिनुपर्छ ।
१८. हरेक महानगरबासीले नगरप्रतिको आफ्नो दायित्व र कानूनको पालना गर्नुपर्छ ।
यी सबै काम पहिलो प्राथमिकताका कामहरु हुन् । अन्य विकास निर्माणका काममा क्षेत्रको आवश्यकता र विज्ञको परामर्शअनुसार गर्दै जानुपर्छ ।