भरतपुर,१३ पुष ।
माघे संक्रान्तिको अवसरमा नारायणी नदी किनार ‘नेपथ्य’ को सांगीतिक माहोलले तात्ने भएको छ । फरक र मौलिक स्वाद लिएर सांगीतिक क्षेत्रमा चर्चित रहेको ‘नेपथ्य’ व्याण्डले माघ १ गते नारायणी नदी किनारलाई गुञ्जयमान बनाउने छ । दाताज इभेन्ट म्यानेजमेन्टले यो अवसर जुटाउन लागेको हो । करिब ३ घण्टा नेपथ्यले गीत गाउने कार्यक्रमलाई ‘नेपथ्य लाइभ–२०१८’ भएिको छ ।
नेपथ्यले २५ औं वर्षगाँठ मनाइरहेको छ । यही अवसरमा मुलुकका विभिन्न सहरमा गर्न लागेको कार्यक्रमअन्तर्गत चितवनमा पनि यो कार्यक्रम गर्न लागिएको हो । “४ वर्षदेखि हामीले धेरै सांगीतिक कार्यक्रम गरेका छौँ”, आयोजक संस्था दाताज इभेन्ट म्यानेजमेन्टका अध्यक्ष दाताराम घिमिरेले भने, “यसपालि ज्यादै ठूलो ‘क्राउड’का बीचमा नेपथ्यलाई ल्याउँदैछौँ, यो ठूलो कार्यक्रम हो ।” नेपाली लोक, आधुनिक क्षेत्रमा सर्वोत्कृष्ट व्याण्डका रुपमा स्थापित नेपथ्यलाई चितवन ल्याउनु ठूलो उपलब्धी भएको उनले बताए । नेपथ्य लाइभ हेर्न ५ सय र १ हजार रुपैयाँका दुईथरि टिकटको व्यवस्था गरिएको छ । १० हजार जनाले कार्यक्रम सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
यो कार्यक्रमलाई मेट्स एजुकेसन प्रालिको मुख्य प्रायोजन रहेको छ । कार्यक्रम स्थलमा साँझ ६ बजे अघि नै प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रवेशका लागि टिकटको मूल्यअनुसारका दुई–दुई वटा गेटको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि सुरु हुने सो कार्यक्रममा उच्चस्तरीय साउण्ड सिष्टमको व्यवस्था गरिएको छ । कार्यक्रम स्थलमा मदिरा तथा सूर्तिजन्य पदार्थको प्रयोगमा निषेध गरिएको छ । नेपथ्य व्याण्डका संस्थापक तथा मुख्य गायक अमृत गुरुङसहितको टोली सो कार्यक्रममा सहभागी हुनेछ । नेपथ्यका ‘रेशम’, ‘छेक्यो–छेक्यो देउराली डाँडा’, ‘तालको पानी’ ‘हिमाल चुचुरो’ जस्ता चर्चित गीत युवाले खुबै रुचाएका छन् ।
कार्यक्रमको प्रचारप्रसार गर्न स्थानीय कलाकारको साथमा ‘प्रि–इभेन्ट म्युजिकल टुर’ समेत गर्न लागिएको घिमिरेले जानकारी दिए । उनका अनुसार चितवन र नवलपरासीका कलेज, स्कूल र मुख्य चोक–चोकमा तीन दर्जन बढी कार्यक्रम गरिने उनले बताए । सो अवसरमा नेपथ्य व्याण्डको जानकारी र टिकट बिक्रीमा विशेष छुटको व्यवस्था गरिएको छ ।