भरतपुर, १२ पुस ।
नेपाली टेलिभिजन पत्रकारितामा लामो योगदान गरेका पत्रकार किरण मरहठ्ठालाई यो वर्षको उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको छ । नेपाल जेसीजले भैरहवामा चालु चौवालीसौँ राष्ट्रिय सम्मेलनको अवसरमा पत्रकारितामा उत्कृष्ट योगदान दिएको भन्दै उनलाई यो पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको विजयी छनोटको लागि लालमणि पन्तको संयोजकत्वमा समिति गठन गरेको थियो । वरिष्ठ पत्रकारहरु समेत सम्मिलित सो समितिले टेलिभिजन कार्यक्रम निर्माण तथा प्रस्तुतीकरण तथा रिपोर्टिङमार्फत उनले दिएको उत्कृष्ट योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको थियो । एबीसी टेलिभिजनमा आबद्ध मरहठ्ठा प्रतिष्ठित टेलिभिजन टक सो होस्ट हुन् भने उनको अन्तरवार्ता कलासम्बन्धी ‘द होप’ नामक पुस्तकसमेत प्रकाशित छ ।
बुटवल एफ. एमबाट पत्रकारिता आरम्भ गरेका उनले नेपाल टेलिभिजन, रिपब्लिका मासिक, पारदर्शी खबर र गोरखा एफएममा काम गरिसकेका छन् । मरहठ्ठा अमेरिका रहेको कारण उनका आफन्तले सो पुरस्कार ग्रहण गरेका थिए ।