ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर, १२ पुस ।
सहकारी संस्थाहरुले महिलालाई उद्यमशील बनाउँदै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सरोकारवालाले बताएका छन् । साथै महिलाहरुलाई नेतृत्व विकासदेखि आत्मसम्मानका साथ जीवन जीउन सक्ने बनाएको उनीहरुको भनाइ छ ।
रत्ननगर नगरपालिका–१, बकुलहरस्थित उज्ज्वल महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्ने सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारीबाट महिला उद्यमशीलतातर्फ उन्मुख भएको बताए । “एकाध सहकारी नाफामा मात्रै केन्द्रित पनि छन्” मेयर वनले भने, “त्यस्ता सहकारी पनि छन्, जसले आफ्ना सदस्यहरुको आर्थिक विकास गराउँदै आत्मसम्मानका साथ जीवन जीउन सहयोग मिलेको छ ।” सहकारी सक्षम हुनु अघि धेरैले सहयोग माग्न आउने गरेको स्मरण गर्दै मेयर वनले अहिले त्यस्तो अवस्था नरहेको बताए । रत्ननगर सबैको रोजाइँ बनाउने गरी नगरपालिकाले योजना अघि बढाएको भन्दै मेयर वनले यो अभियानमा साथ दिन सहकारीहरुलाई आग्रह गरे । “आर्थिक रुपमा सहकारीहरुले बैंकको जस्तै कारोबार गर्न सक्ने भएका छन्”, मेयर वनले भने, “रत्ननगरलाई पाँच वर्षभित्र नमूना नगरको रुपमा विकास गर्ने हाम्रो लक्ष्य पूरा गर्न सहकारीसँग सहकार्य गर्न तयार छौं ।”
नेपाल बचत तथा ऋण केन्द्रीय संघका सञ्चालक शान्ति अधिकारीले सहकारीमा आबद्ध सदस्यहरुको आर्थिक विकासका लागि फोहरलाई मोहर बनाउने, हस्तकलाको सामग्री उत्पादन गरेर पर्यटकीय क्षेत्र सौराहामा लगेर बिक्री गर्ने वातावरण बनाउनुपर्ने बताइन् । सहकारी सक्षम हुनका लागि कम्तीमा ३ करोड पुँजी, एक हजार सदस्य र कम्तीमा ३ जना कर्मचारी अनिवार्य हुनुपर्ने संघकी सञ्चालक अधिकारीको भनाइ छ । सहकारीको विकाससँगै सदस्यहरुमा परिवर्तनका लागि सहकारीको एकीकरण आवश्यक रहेको पनि उनले बताइन् ।
महिला तथा वालवालिका कार्यालय भरतपुरकी प्रमुख शान्ता पौडेलले सहकारीमार्फत पनि घरेलु हिंसालगायत समस्या समाधनको कार्य गर्नु महत्वपूर्ण रहेको बताइन् । नेपाल बचत तथा ऋण केन्द्रीय संघका पूर्व सञ्चालक नवराज सापकोटाले गरीबी निवारण, सशक्तीकरण र महिलाको क्षमता तथा नेतृत्व विकासमा ठूलो योगदान पु¥याएको बताए । उज्ज्वल सहकारी पनि आफ्ना सदस्यको आर्थिक विकासका लागि व्यापार, कृषि, शिक्षामा लगानी गर्दै आएको सहकारी अध्यक्ष ऋतु गिरीले बताइन् ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गिरीले बचत तथा ऋण प्रवाह मात्रै गर्ने नभई सदस्यहरुमा आर्थिक रुपान्तरणका लागि ब्युटीपार्लर, होटल, तरकारी व्यवसाय, शिक्षालगायत क्षेत्रमा लगानी गरेको बताइन् । सो सहकारीका कूल ७ सय ५० जना सदस्य रहेकोमा ६ सय ५० जनाले ऋण लिएर कुनै न कुनै व्यवसाय तथा शिक्षामा लगानी गरेका छन् । सहकारीले अहिलेसम्म व्यापारमा ५६ लाख ६७ हजार, कृषिमा ५५ लाख ८७ हजार, शिक्षामा ५३ लाख ७९ हजार रुपैयाँ लगानी गरेको संस्थाकी व्यवस्थापक हेमा अधिकारीले जानकारी दिइन् ।
लगानी गरिएका प्रायः सबै सदस्यहरु आत्मनिर्भर बनेको व्यवस्थापक अधिकारीले बताइन् । साधारणसभाका अवसरमा ज्येष्ठ शेयर सदस्य सावित्री ढुंगाना र असल ऋणीहरुलाई सम्मान गरिएको सहकारी सचिव सम्झना घिमिरेले जानकारी दिइन् । सहकारीकी अध्यक्ष ऋतु गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर–१ का वडा सदस्य शालिकराम पराजुली, जनजागृति सहकारीका अध्यक्ष रमाकान्त पौडेल, बकुलहर माविका प्रधानाध्यापक कमला ढकाल, सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी गौली, सल्लाहाकार राधा चौधरी, अग्रज सहकारीका अध्यक्ष लक्ष्मी थापा, लेखा संयोजक कल्पना गिरी, कोषाध्यक्ष गंगा सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।