चितवन हात्ती महोत्सव
ध्रुवराज खनाल/कायाकैरन
सौराहा, १२ पुस ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गर्न वर्तमान सरकार सफल रहेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू आँतुर रहेको बताएका छन् । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा मंगलबारबाट सुरु भएको १४ औं चितवन हात्ती महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको संक्रमणकाल अन्त्य गर्न वर्तमान सरकार सफल रहेको जिकिर गरे ।
देशलाई निकास दिने पार्टी कांग्रेस मात्रै भएको दावी गर्दै उनले भने, “पार्टीलाई फाइदा÷बेफाइदा केही नहेरी निर्वाचन गराएर मुलुकलाई विकासको बाटोतर्फ उन्मुख गराएको छ । यसमा हामी गर्व गर्दै अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आँतुर छु ।” प्रधानमन्त्री देउवाले पर्यटन उद्योगलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने बताए । चितवनको पर्यटनमा वाधाको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडकखण्ड निर्माण कार्य अझै सम्पन्न हुन नसकेकोमा प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरे । “कामको जिम्मा दिन्छौं तर कार्यान्वयन हुँदैन उनले भने”, यसैका कारण विकास हुन नसकेको हो ।” सो अवसरमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले सौराहालाई नेपालकै दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार रहेको भन्दै राज्य पक्षले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा चितवन क्षेत्र नम्बर एक प्रदेश सभा (ख) का सांसद् कृष्णप्रसाद खनालले अबको पाँच वर्षभित्र सौराहालाई बाढीबाट सुरक्षित बनाउने गरी योजना बनाएर काम गर्ने बताए ।
जैविक विविधतालाई असर नगर्ने गरी चितवन निकुञ्जबाट सौराहालाई माडीसम्म जोड्ने गरी पर्यटन मार्ग बनाउन, सौराहामा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गर्नेलगायत काम गर्ने प्रतिबद्धता जनाए । होटल संघ (हान) का केन्द्रीय अध्यक्ष अम्मरमान शाक्यले अपेक्षाकृत पर्यटकको आगमन बढेको भन्दै निजगढ र पोखराको विमानस्थल छिटो सम्पन्न गर्न सके पर्यटन विकास तीव्र हुने औंल्याए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहामा आन्तरिक पर्यटक बढाउने गरी यहाँका व्यवसायीसँग समन्वय गरेर काम गर्ने योजना रहेको सुनाए । मेयर वनले नारायणगढ–मुग्लिङ सडकखण्डका कारण चितवनको पर्यटनमा ठूलो असर परेको भन्दै तीव्ररुपमा निर्माण कार्य गराउन प्रधानमन्त्री देउवा समक्ष आग्रह गरे ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले वन्यजन्तु संरक्षणमा हात्ती महोत्सवको भूमिका महत्वपूर्ण रहेको बताए । अत्याधुनिक प्रविधिमार्फत वन्यजन्तुको संरक्षण भएको दावी गर्दै प्रमुख संरक्षण अधिकृत कँडेलले सन् २०१७ लाई प्रजाति संरक्षण वर्षको रुपमा लिएको बताए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगानाले चितवन निकुञ्ज प्रवेशमा लाग्ने शुल्कको म्याद तीन दिन बनाउन सके यहाँ पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने बताए । “चितवन निकुञ्ज ठूलो पनि, यहाँ रहेका विभिन्न गतिविधि अवलोकन गर्न एक दिनमा सकिदैन”, समितिका अध्यक्ष ढुंगानाले भने, “प्रवेश शुल्कको टिकटलाई कम्तीमा तीन दिन बनाउन सके पर्यटकको संख्या बढ्नेछ ।”
क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक भट्टराईले महोत्सवले वन्यजन्तुसँगै पर्यटन प्रवद्र्धन भएको दावी गरे । चितवनको पर्यटनको विकासका लागि राज्य पक्षबाट ठोस नीति ल्याउनुपर्नेसमेत संयोजक भट्टराईले बताए । वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्षेत्रीय होटल संघले प्रत्येक वर्ष हात्ती महोत्सव गर्दै आएको छ । यसवर्षको महोत्सवमा हात्तीसँग सम्बन्धित मात्रै गतिविधि तथा प्रतियोगिता हुनेछन् । पुस १५ गतेसम्म चल्ने महोत्सवमा हात्ती फास्ट वाक, हात्तीका छावाहरुबीचको फुटबल, हात्ती पोलो, हात्ती वनभोज कार्यक्रम, हात्ती श्रृंगारलगायत प्रतियोगिता गरिनेछन् । महोत्सव उद्घाटनअघि हात्तीसहित विभिन्न जातजातिको संस्कृति झल्कने शोभायात्रा निकालिएको थियो ।
कलाकारसहित ८ जना सम्मानित
चितवन हात्ती महोत्सवका अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित संरक्षणमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । राष्ट्रियस्तरमा कलाकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै महोत्सव आयोजक क्षेत्रीय होटल संघ चितवनले कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो ।
कार्यक्रममा अनुपस्थित हरिवंश आचार्यको सम्मानपत्र कलाकार श्रेष्ठले नै ग्रहण गरे । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा र संघका अध्यक्ष सुमन घिमिरेले सम्मानपत्र प्रदान गरे । सोही अवसरमा सामाजिक तथा संरक्षणको क्षेत्रमा योगदान पु¥याएका रामचन्द्र अधिकारी, गोपीकृष्ण श्रेष्ठ, निकुञ्जका पशु चिकित्सक कमल गैरे, चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका तर्फबाट माहुते सिकेन्द्र चौधरी, दक्ष हेरालु प्रेम शर्मा र निजी क्षेत्रको हात्ती व्यवस्थापनमा कार्यरत सन्तकुमार महतोलाई पनि सम्मान गरिएको थियो ।