भरतपुर, ११ पुस ।
नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको दुई दिने प्रशिक्षण तथा वार्षिक समीक्षा गोष्ठी सोमबार सौराहामा सम्पन्न भएको छ ।
गोष्ठीले मञ्चको कार्यसम्पादनलाई प्रभावकारी बनाउन चारवटा महत्वपूर्ण उपसमितिसहित १५ बुँदे कार्ययोजना तयार गरेको छ । मञ्चले शिवराज गिरी संयोजक रहेको तीन सदस्यीय कार्यसम्पादन मूल्यांकन उपसमिति, दुर्गाप्रसाद गौतम संयोजक रहेको ७ सदस्यीय स्थलगत अध्ययन तथा सुझाव उपसमिति, रामप्रसाद अधिकारी संयोजक रहेको ८ सदस्यीय सूचना सञ्चार उपसमिति र कृष्ण कँडेल संयोजक रहेको ३ सदस्यीय आर्थिक योजना समिति बनाइएको मञ्चका अध्यक्ष पवित्रा जोशीले जानकारी दिइन् ।
त्यसैगरी संस्थाको वार्षिकोत्सव मनाउन, मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम गर्ने, ७ वटै स्थानीय तहमा मञ्चको इकाई गठन गरी सदस्यता विस्तार गर्ने, बुलेटिन प्रकाशन गर्ने, नियमित बैठकमा पदाधिकारी तथा सदस्यहरु अनिवार्य उपस्थित हुनै पर्ने, सबै इकाईलाई अधिकार सम्पन्न बनाउने कार्ययोजनामा उल्लेख गरिएको छ । त्यस्तै चितवनका स्थानीय तहमा इकाई दर्ता गर्ने, वार्षिकरुपमा क्यालेण्डर प्रकाशन गर्ने, साधारण सभा र अधिवेशन नियमित गर्ने, सदस्य विस्तारलाई प्रभावकारी बनाउनेलगायत विषय कार्ययोजनामा समावेश गरिएको मञ्चका अध्यक्ष जोशीले जानकारी दिइन् ।
कार्यक्रममा मञ्चका कानूनी सल्लाहकार गोपीलाल देवकोटाले घरधनी र व्यवसायीबीच देखिएका समस्या, कानूनी जटिलता र समस्या समाधानका उपायका बारेमा सहजीकरण गरेका थिए । मञ्चका अध्यक्ष पवित्रा जोशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा निवर्तमान अध्यक्ष दुर्गाप्रसाद गौतमले घरधनी र व्यवसायी समुधुर सम्बन्ध कायम हुन सकेमात्र जिल्लालाई व्यावसायिकरुपमा अगाडि बढाउन सकिने बताए ।