भरतपुर, ११ पुस ।
फेन्सी व्यवसायी संघ नारायणगढले बजार क्षेत्रको फुटपाथ व्यवसायको उचित व्यवस्थापन गर्न माग गरेको छ ।
संघको १३ औं साधरणसभामा बोल्दै फेन्सी व्यवसायीले बजार क्षेत्रमा अस्तव्यस्त रहेको फुटपाथ व्यवसायलाई उचित विकल्प दिन माग गरेको छ । संघका पूर्वअध्यक्ष हेमराज पौडेलले फुटपाथ व्यवसायलाई बजार क्षेत्रबाट हटाउँदै उचित विकल्प दिन स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।
उनले पसल अगाडीका सडकपेटी नै ओगटेर व्यवसाय गर्दा व्यवसायी मारमा परेको बताए । संघका अध्यक्ष बालकृष्ण कँडेलले स्थानीय तहले ढिलो व्यवस्थापन गर्दा फुटपाथ व्यवसायी र अन्य व्यवसायी प्रत्यक्ष मारमा परेको बताए । उनले फेन्सी व्यवसायलाई स्वस्थ प्रतिस्पर्धामूलक बनाउन पहल भइरहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतम, वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, तृतीय उपाध्यक्ष विष्णुप्रसाद कँडेल, पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले आसन्न संघको चुनावबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा फेन्सी व्यवसायी संघको एक वर्षे कार्यसम्पादन प्रतिवेदन महासचिव विकास श्रेष्ठ, आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वर लामिछानेले प्रस्तुत गरेको संघका प्रवक्ता विवेक कँडेलले जानकारी दिए ।