विजय विश्वकर्मा
उपन्यासको प्रोट्यागनिस्ट डब्बु उर्फ गोर्की उर्फ गगन थापा पढ्ने न्यू हार्फोर्ड इङ्लीस स्कूलको प्रिन्सिपल वि.रा.लो. उर्फ विजयराज लोहनीले एस.एल.सी. परीक्षा सुरु हुनुभन्दा ठीक केही दिनअघि दिइएको विदाईभोजको समारोहलाई सम्बोधन गर्ने क्रममा भन्छ, “मपनि ‘चिटिङ’को पक्षमा छैन तर के गर्ने अहिले कुनै स्कूलको नाम कति पर्सेन्ट पास भयो भनेर होइन, कति जनाले डिस्टिङ्सन ल्याएर पास गरे र कति जनाले हायर ‘फस्र्ट डिभिजन’ ल्याए भन्नेमा हुन्छ । अहिलेको जमानामा सेकेन्ड डिभिजन ल्याउनु त लाजमर्दो कुरा हो, थर्ड डिभिजन त गाली पाउनु बराबर हो ।
“जुगजमाना फेरिएको छ । सफलताका मानकहरु फेरिएका छन् । र फेरिएको छ हामीलाई ज्ञानको ज्योति बाँड्ने पाठशालाको पद्धति पनि । नेपालको शैक्षिक विकासमा योगदान पु¥याउन खुलेका प्राइभेट पाठशालाहरुको ऐना हो ‘पाठशाला’ । पौराणिककालदेखि नै पूजनीय स्थल मानिदै आएको पाठशालाको वर्तमान रुप कति कूरुप, क्रुर र कलंकित भइसकेको छ, त्यो पत्याउन गाह्रै पर्छ । शिक्षाजस्तो पावन क्षेत्र पैसाका कारणले कसरी पतित बन्दै गइरहेको छ ? डाक्टर, ईञ्जिनियर, पाइलट उत्पादन गर्न उद्दत पाठशालाहरुले पहिले एउटा असल मान्छे बन्नलाई कत्तिको प्रेरित गरिरहेका छन् ?
स्कूलहरुले नेपालको निरक्षर दर मात्र घटाइरहेका छन् कि जिम्मेवार शिक्षित नागरिक पनि जन्माइरहेका छन् ? जसरी पनि डिस्टिङ्सन, हायर फस्र्ट डिभिजन, नभए फस्र्ट डिभिजन ल्याउन प्रशिक्षित विद्यार्थीहरु अन्ततःवास्तविक जिन्दगीको परीक्षामा पास हुन्छन् कि फेल ? आफूलाई बोनसको जीवन बाँचिरहेको अदक्ष मान्छे ठान्ने यो उपन्यासका लेखक तीर्थ गुरुङले लगातार २४७ पृष्ठ लेख्दा पनि यी प्रश्नहरुको सार्थक र तार्किक जवाफ दिन सकेका छैनन् र गाली पाउनु बराबरको काम गरेका छन् । उपन्यासको प्रमुख पात्र गगनको ‘मोनोटोनस’ गनगन मात्र हो पाठशाला ।
प्रत्येक दिनजसो बजारमा निस्किने नेपाली किताबहरुको आवरण देखेर म प्रायः निराश हुने गरेको छु । नेपाली किताबहरुको बाहिरी आवरणमा कालजयी कला कहिले देख्न पाइएला भनी सोचमग्न हुन्छु र गुगलबाट पिक्चर कपी गरी सिधै किताबको कभरमा पेस्ट गर्ने प्रवृत्ति भस्म भइजाओस् भनी कामना गर्दछु । सुनगाभा बुक हाउस नारायणगढको काउन्टरमा जब मैले पाठशालालाई पहिलो पटक इन्काउन्टर गरे म यसको बाहिरी आवरणबाट ‘हेभी इम्प्रेस’ भएँ । पाठशालाको बाहिरी आवरण जति युनिक छ, भित्री आख्यान त्यति नै कमसल ! पाठशालाको बाहिरी आवरण जति क्रिएटिभ छ भित्री आख्यान त्यति नै कमजोर !
८ अप्रिल १९९० मा भएको गगनको जन्मसँगै बहुदलीय प्रजातन्त्रको पनि जन्म हुन्छ । पन्चायती व्यवस्थाको अवसान हुन्छ । त्यसैले कतिपयले उसलाई ‘बौदलबाबु’ भनेर पनि बोलाउँछन् । उसको जन्म र एस.एल.सी देशमा भएका ठूल्ठूला परिवर्तनहरुसँगै जोडिएको छ । तर, राजनीति उसलाई पटक्कै मन नपर्ने कुरो हो । २०६२ सालको चैतमा केवल एस.एल.सी मात्रै थिएन । प्रजातन्त्रको परीक्षा पनि थियो । डब्बु मात्रै परीक्षामा थिएन, पूरै देश परीक्षामा थियो । १९ दिने जन आन्दोलनले १०४ वर्षे राजतन्त्र ढाल्यो । देश पास भयो । डब्बु पनि पास भयो । तर, विशिष्ट श्रेणीको महत्वाकांक्षा पालेर बसेको डब्बुले एस.एल.सी. मा सोचेजस्तो नतिजा पाएन । देशले पनि सोचेजस्तो नतिजा कहाँ पाएको छ र ?
खासमा ‘पाठशाला’ डब्बुको डायरी हो । नोटबुक । २०६२ सालको एस.एल.सी परीक्षा दिइसकेपछि उसले फुर्सदको समयमा लेखेको संस्मरण हो । डायरीको पहिलो पृष्ठमै उसले आफूलाई परिचित गराएको छ र आफूलाई मनपर्ने ठाउँ, रङ, खाना इत्यादिको सूची पनि राखेको छ । काफ्का र देवकोटा उसलाई मनपर्ने लेखक हुन् । हो, ऊ कोर्स बाहिरका किताब पनि पढ्छ, किनभने उसको बुवा पढ्नुहुन्छ । किताब उसको असल साथी हो । उसको बुवाको साथी बोइलनले गिफ्ट दिएको ‘टु किल अ मकिङ बर्ड’ उसलाई असाध्यै मन परेको किताब हो । जिनेदिन जिदानेको फ्यान ऊ चेस पनि मन पराउँछ । ब्लु र ग्रीन उसलाई मनपर्ने कलर हुन् । तर, पछिल्लो समय पहेलो रङले उसलाई ज्यादै ‘डिस्टर्ब’ गर्न थालेको छ । यसरी आफ्नो नोटबुकमा साधारण र सामान्य देखिएको डब्बु उपन्यासमा भने असाधारण र अनौठो देखिन्छ । कलेज तथा विश्वविद्यालयमा हुनुपर्ने विद्यार्थी उपन्यासको अन्त्यतिर भने अन्त कतै पु¥याइएको छ । यत्रो विरोधाभास कहिले, कसरी र किन पैदा भयो ? यी प्रश्नको उत्तर पनि मैले उपन्यासका कुनै पानामा भेटिन ।
बाहिर लेखकले ‘पाठशाला’ भनेपनि भित्र भने डब्बुले पाठशालालाई ‘भूतबंगला’ भनेको छ । भूतबंगलाका भूतहरु ‘एक से एक’ छन् । कोही कसैभन्दा कम छैनन् । चाहे ती विद्यार्थी हुन् या टिचर ! तिनका भूतिया गतिविधि रोचक छन् । त्यही भएर हुनुपर्छ निर्मलाको अटोग्राफ भर्ने क्रममा मनपर्ने शिक्षकको नाम लेख्नुपर्ने ठाउँमा उसले ‘न्य त्य ज्भिि १११’ लेखेको छ । ‘हेल’ भनेकै भूत बस्ने बंगला त हो नि ! हैन र ?
पाठशालाको अर्को युनिकनेस के हो भने यो हरिया अक्षरहरुमा लेखिएको छ । यी हरिया अक्षरहरुले तपाईंलाई तपाईंको जिन्दगीका हरिया दिनहरुमा लैजानेछन् । मलाई पनि लैगएका थिए । डब्बु र डब्बुका साथीहरुका ‘ननसेन्स’ हर्कतहरुले तपाईंलाई पनि ‘नोस्टाल्जिक’ बनाई छाड्नेछन् । मलाई पनि बनाएका थिए । समग्रमा यो तपाईं हाम्रै कहानी हो ।
तपाईं हाम्रै जिन्दगीको एक हिस्सा हो । तपाईं हाम्रै अतीत हो, कसै–कसैको वर्तमान पनि हुन सक्छ । अर्थात कुनै न कुनै रुपमा यो हामीसँग जोडिन आउँछ । दुनियाँमा कहिँ नभएको विद्यालयको जस्तो विज्ञापन तर ‘जिङ्क मेटल’ पनि नभएको साइन्स ल्याब र एउटा पनि सद्दे कम्प्युटर नभएको कम्प्युटर ल्याब ठ्याक्कै मेरै स्कूलको जस्तो लाग्यो ! डब्बु र डब्बुका साथीहरुमा मैले म र मेरा साथीहरुलाई पाएँ । ओहो ! त्यो ‘होस्टेलिया’ हाउडे जिन्दगी ! अहिले सम्झदा मात्र पनि म अवाक हुन्छु । डब्बु र डब्बुका साथीहरुका होस्टेलिया हर्कतहरुले तपाईंलाई वास्तवमै हँसाउनेछन् । हामीले त्यसरी नै सरहरुको निकनेम राख्दिन्थ्यौं र गिज्याउँथ्यौं । कक्षामा सरले अगाडि पढाउँदै गर्दा हामी पनि त्यसरी नै पछाडि खासखुस गथ्र्यौं । पैसा नभएर पिकनिक (टुर) जान नपाउँदा म त्यसरी नै ‘अचानक’ बिरामी पर्थें । राम्री केटी देख्ने बित्तिकै जसरी डब्बुलाई लभ पर्ला–पर्ला जस्तो हुन्छ, मलाई पनि त्यस्तै हुन्थ्यो (हुन्छ !) ।
जोक ग¥या हैन, साँच्चै भन्या ! प्रणयमा मैले भाइ अजयलाई पाएँ । हामी त्यसरी नै लड्थ्यौं । र समयमै स्कूलको ‘फी’ बुझाउन नसक्ने अरु बाउआमाका छोराछोरीहरुसँगै हामी पनि ‘मुर्गा’ बन्थ्यौं । सानो कक्षामा छँदा म पनि डब्बुलाई जस्तै ठूलो कक्षामा बोलाइन्थे र त्यो ठूलो कक्षाका दाइदिदीहरुले मिलाउन नसकेको हिसाब मैले सजिलैसँग गरेर सिध्याएपछि उभिरहेका सबैलाई एकेक लट्ठी हान्ने पुरस्कार पाउँथें । प्रारम्भमा मेधावी बालकको रुपमा उदाएको गगनको जस्तै मेरो प्रगति पनि विस्तारै खस्किँदै गएको रेकर्डहरुले बताउँछन् । मैले पनि त्यसरी नै घरबाट पैसा चोर्थें र बजार गएर टन्न मःम चाउमिन खान्थें । र मैले चोरेको पनि घरमा कसैले थाहा पाउँदैनथे । साँच्चै भन्या, जोक ग¥या हैन ! सुख पनि आफ्नै जस्ता । दुःख पनि आफ्नै जस्ता । सबै–सबै भोगाइ आफ्नै जस्ता । आफूले आफैलाई यतिविघ्न पढ्दा पनि ‘हेभी बोर’ महसुस हुँदोरहेछ । समग्रमा पाठशालामा नयाँ–नौलो कुरा केही छैन । तर, यो मनले त नयाँ–नौलो कुरा मात्रै पो खोज्दोरहेछ !
झुन्डका झुन्ड चरित्रले गर्दा उपन्यास भारी बनेको छ । प्रत्येक पानामा आउने नयाँ–नयाँ पात्रले उपन्यासलाई अनावश्यक रुपमा बोझिलो बनाएका छन् । उपन्यास लगभग आधा भइसक्दा पनि लेखकले आफ्नो प्रमुखपात्रलाई स्थापित गर्न सकेका छैनन् । पाठक ती अनेकौं पात्रहरुबीच अलमलिन्छन् र भड्किन्छन् । र ती पात्रहरुबीचका संवाद पनि अत्यन्तै फितला छन् । ती संवादहरुले तपाईंको चेतनामा हिर्काउँदैनन् । हिर्काउनु त परको कुरा चिमोट्दा पनि चिमोट्दैनन् । यो घटनैघटनाको उपन्यास पनि हो । सुरुदेखि अन्त्यसम्म एकपछि अर्को गर्दै घटने घटनाहरुले पाठकलाई रोमाञ्चितको सट्टा ‘इरिटेट’ पार्छन् । उपन्यासको अर्को कमजोर पक्ष भनेको यसमा प्रयुक्त भाषाशैली पनि हो । जसको स्पष्टीकरण प्रकाशकले उपन्यास सुरु हुनुभन्दा पहिल्यै दिएका छन् ।
मलाई लाग्छ त्यो स्पष्टीकरण पाठकका लागि भन्दा पनि भाषाविद्हरुका लागि हो । भाषा निरस छ । अत्यन्तै ठाडो र सादा छ । अक्षरहरु मात्रै हरिया हुन् । तिनमा कुनै रस छैन । उपन्यासका कुनै पनि पात्र, संवाद अथवा घटना स्मरणीय छैनन् । किताबबन्द ! पाठशाला बन्द ! पाठशालाका कुनै पनि पात्र, संवाद अथवा घटनाले तपाईंलाई पछ्याउँदैनन् । शिक्षाजस्तो संवेदनशील विषयमाथि लेख्न खोजिए पनि लेखक गगनको गञ्जागोल गन्थनमै अल्झिएका छन् र उपन्यास त्यस्तो कुनै विशेष सन्देशविनै टुंगिएको छ । मेरो निष्कर्ष यत्ति हो । कि मेरो अपेक्षा बढी भयो ? किनभने यो कुनै शिक्षकको नभई कक्षा १० मा अध्यनरत एक आम विद्यार्थीको डायरी हो ।