चितवन, पुस ९ /
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान ऐन नियम परिवर्तनसंगै नेपालमा विकासको गतिले तिव्रता पाउने बताउनुभएको छ ।
चितवन उद्योग संघले आज चितवन प्रदर्शनी केन्द्र भरतपुरमा गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ऐनको व्यवस्थाहरु सुधार गर्दै आयात निर्यात सम्बन्धित राष्ट्रहित विपरीतका कानुनहरुलाई परिवर्तन गर्न सकिए आउने पाँच वर्ष भित्रमा केही आर्थिक क्रान्तिका नयाँ मोडेलहरु राष्ट्रका लागि राख्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले पब्लिक प्राईभेट पार्टनसिप मोडल प्रभावकारी देखिएको भन्दै अब यसरी नै देशको आर्थिक विकास गर्नका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । विगतका जस्तो सरकार नबन्ने भन्दै अब बन्ने सरकारले देश परिवर्तनको झल्को दिने बताउनुभयो । हिजोको जस्तो कमजोर सरकार अब नबन्ने भन्दै सरकारले भनेपछि लागु हुने खालको अवस्था रहने बताउनुभयो । निजी क्षेत्रका व्यवसायीहरुसंग धेरै नै अन्तरक्रिया हुनु आवश्यक रहेको भन्दै त्यसबाट प्राप्त सुझावलाई अब बन्ने सरकारले गम्भिरताका साथ लिने अध्यक्ष प्रचण्डको भनाई थियो ।
यस्तै अध्यक्ष प्रचण्डले यसअघि गृहजिल्लाको हिसाबमा चितवनमा आफू गरेको सहयोग टोकनको रुपमा मात्र रहेको भन्दै अब जनप्रतिनिधिको हैसियतमा विकासका लहर ल्याउने बताउनुभयो । उहाँले राष्ट्रिय राजधानी, आर्थिक राजधानी र प्रादेशिक राजधानीको रुपमा जहिल्यै पनि चितवन चर्चामा रहेको भन्दै विकासका नयाँ मोडल राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा विकास गर्ने संभावना भएको जिल्लाको रुपमा चितवन रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश साँसद र प्रतिनिधि सभाका साँसदयहरुलाई चितवन उद्योग संघका अध्यक्ष भिमबहादुर पाण्डेले मायाको चिनो प्रदान गर्दै बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, प्रदेश सभा सदस्य विजय सुवेदी, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका सचिव लक्ष्मण अर्यालले संचालन गर्नुभएको कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।