विप्लव काफ्ले/कायाकैरन
भरतपुर,९ पुस ।
चितवनको विकासका लागि भारतीय परियोजना ल्याउन पहल गर्नुपर्नेमा अगुवाहरुले जोड दिएका छन् । भरतपुरमा आयोजित रोनिक पाठक स्मृति ट्रष्ट नेपालको उद्घाटन कार्यक्रममा सहभागिले नेपाल भारतबीचको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
“चितवन खुलाउँदा उबेला अमेरिकाले सहयोग ग¥यो”, प्रदेशसभा सदस्य विजय सुवेदीले भने, “अब भारतले गरेको उच्चविकासको लाभ चितवनले लिन चाहन्छ, त्यसका लागि प्रशस्तै परियोजना भित्रनुपर्छ ।” उनले चितवन उपत्यकालाई आधुनिक उपत्यका बनाउन भारतको सहयोग महत्वपूर्ण हुने बताए । “भारतले प्रयोग गरेका प्रविधि, आर्थिक र भौतिक विकास चितवनसम्म ल्याउनुपर्छ”, उनले भने, “चितवन विकसित बनाउन भारतसँगको सम्बन्ध सुर्धानुपर्छ ।”
यस्तै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भारतीय सरकारले चितवन विकासमा उच्च सहयोग गर्ने विश्वास व्यक्त गरे । “चितवन भारतसँगै रहेको जिल्ला हो, विकास क्षेत्रमा सहयोग हुने अपेक्षा गरेका छौँ”, उनले भने, “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रमा महत्वपूर्ण हुने अपेक्षा छ ।” उनले भारत र नेपालको सम्बन्ध विगतदेखि नै सौहाद्र रहेकाले विकास परियोजना भित्राउन सहयोग पुग्ने बताए । भारतीय महावाणिज्यदूत बीसी प्रधानले चितवनको विकासका लागि भारत तयार रहेको बताए । “कस्तो विकास चाहनुभएको छ, योजना ल्याउनुहोला, भन्नुहोला”, उनले भने, “विगतमा पनि भारतले सहयोग गरेकै हो, अब पनि गर्न तयार छौँ ।” भारतीय महावाणिज्यदूतसँग जिल्ला समन्वय समितिको आह्वानमा मेयर, उपमेयर, उद्योग वाणिज्य संघ, चिकित्सक संघलगायत सरोकारवाला पक्षसँग शनिबार साँझ छलफल गरिएको छ ।
रोनिकको सम्झनामा ट्रष्ट
भरतपुर–२, क्षेत्रपुरका रोनिक पाठकको स्मृतिमा ट्रष्ट स्थापना गरिएको छ । ट्रष्टको भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत बीसी प्रधानले शनिबार भरतपुरमा एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । विज्ञान, खेलकुद र संगीतमा बढी रुचि राख्ने रोनिकको स्मरणमा उनको परिवार तथा आफन्तको पहलमा ट्रष्ट स्थापना गरिएको हो । रोनिक पाठक स्मृति ट्रष्ट नेपाल सञ्चालनका लागि १२ लाख बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ । जगतबहादुरका मामा तेजबहादुर कार्की ‘केशव’ मार्फत १० लाख रुपैयाँ र भरतपुरका सुमित्रा भट्टराई, सुरेन्द्र शर्मा, प्रेममाया भण्डारीलगायतबाट २ लाख रुपैयाँ अक्षयकोषमा संकलन भएको छ ।
रोनिकको दुर्घटनामा परी २०७३ जेठ २७ गत निधन भएको थियो । बुबा तथा ट्रष्टका प्रमुख संरक्षक जगतबहादुर पाठकले ट्रष्टलाई बालबालिकाको हितमा सहयोगी संस्थाका रुपमा विकास गरिने बताए । “गरिबीका कारण पढ्नबाट वञ्चित भएका जेहेन्दार विद्यार्थीलाई ट्रष्टमार्फत सहयोग गर्नेछौँ”, उनले भने, “दुव्र्यसनीविरुद्ध युवालाई लैजान सचेतनामूलक अभियान पनि चलाउनेछौँ ।”
रोनिकका स्कूले साथी रोमन श्रेष्ठले सबैको सहयोग भएमा ट्रष्टले शिक्षा क्षेत्रमा उल्लेखनीय सहयोग गर्न सक्ने बताए । यस्तै रोनिकका स्कूले साथी सुमन गुरुङले ‘अधुरो सपना’ लघुकथा सुनाएकी थिइन् । “गरिब परिवारमा हुर्कदैमा पढ्ने अवसरबाटै वञ्चित हुन कसैलाई नपरोस्”, उनले भनिन्, “यो ट्रष्टले सक्दो सहयोग सबैलाई गर्नेछ, त्यसका लागि अक्षयकोषलाई वृद्धि गर्नु आवश्यक छ ।” सीमाविद् तथा ट्रष्टका संरक्षक साध्यबहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकिृत हटाउने र असल गुण भएका व्यक्तिलाई सहयोग गर्ने ट्रष्टको मुख्य लक्ष्य रहने बताए । “चितवनको शैक्षिक जागरणमा आधुनिक युगसँग गाँस्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उनले भने, “भारतीय महावाणिज्य दूतावासको सहयोगमा बन्ने ई–लाइब्रेरी अनुसन्धान र पढ्ने थलोका रुपमा विकास हुनेछ ।” उनले दुव्र्यसनीमुक्त समाज निर्माण गर्न ट्रष्टले दाताको सहयोगमार्फत नियमित कार्यक्रम गर्ने परिकल्पना गरेको बताए । “ट्रष्ट बढी गाउँतिर केन्द्रीत हुनेछ”, उनले भने, “रोनिकका अधुरा सपना पूरा हुनेछन्, शहरतिरका उनका मनलाई गाउँतिर परिवर्तनका लागि उपयोग गर्नेछौँ ।”
ट्रष्टकै पहलमा भरतपुर–२४ स्थित आधारभूत विद्यालय शान्तिपुरमा ई–लाइब्रेरी बनाउन सहयोगको अपेक्षा गरिएको छ । भारतीय महावाणिज्यदुत विसि प्रधानले ट्रष्ट स्थापना हुनु सकारात्मक कदम भएको बताएका छन् । उनले ट्रष्टमार्फत सामाजिक काम गर्न तयार रहेको बताए ।