धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,९ पुस ।
उद्योग वाणिज्य संघ खैरहनी चिनवनको नवनिर्मित भवन आर्थिक अभावका कारण पूर्णता पाउन सकेको छैन । निर्माणको कार्य करिब डेढ वर्षअघि सुरुआत गरिएपनि आर्थिक अभाव हुँदा भवनले पूर्णता पाउन नसकेको संघले जनाएको छ ।
संघको आम्दानीको स्रोत केही छैन । संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यबाट रकम संकलन गरी भवन निर्माणको काम भइरहेको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए । “संघको आम्दानीको स्रोत केही पनि छैन”, अध्यक्ष श्रेष्ठले भने, “संघमा आबद्ध कार्यसमिति र व्यवसायीबाट रकम संकलन गरेर अहिलेसम्मको काम गरेका छौं ।” खैरहनी–८ स्थित कालिका मोटरसाइकल पार्टस् पछाडि रहेको आफ्नै जग्गामा भवन निर्माणको काम भइरहेको छ ।
संघले २०७१ सालमा ७ धुर जग्गा ७ लाखमा खरिद गरेको थियो । भुइँतल्लाको काम निर्माण सम्पन्न गर्न अहिलेसम्म करिब १६ लाख रुपैयाँ खर्च भइसकेको छ भने भवनलाई पूर्णता दिन अझै १०–१२ लाख खर्च लाग्ने संघका अध्यक्ष श्रेष्ठले बताए । आफ्नै भवन नहुँदा उद्योग वाणिज्य संघ खैरहनी भाडामा बस्दै आएको छ । भाडावापत मासिक ९ हजार रुपैयाँ संघले तिर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ । केही भौतिक सामग्री सहयोग स्वरुप व्यवसायीले प्रदान गरेका छन् भने वाँकी रकम व्यवसायीबीच संकलन गरिएको छ । भवन निर्माणका लागि व्यवसायी रामचन्द्र डल्लाकोटीले नगद १ लाख, संघका अध्यक्ष श्रेष्ठ र प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाले एक लाख भन्दा बढी रकम, उद्योग वाणिज्य संघ–चितवनबाट १ लाख रुपैयाँ प्रदान गरेका संघले जनाएको छ ।
भवन निर्माणका लागि कार्यसमिति सदस्य जगतबहादुर पाण्डेको संयोजकत्वमा निर्माण समिति बनाइएको छ । खैरहनी नगरपालिकाबाट पनि केही सहयोग दिने आश्वासन पाएको संघका अध्यक्ष श्रेष्ठले बताए । दुईतल्ले भवनको पहिलो तल्लामा सभाहल तथा माथिल्लो तल्लामा कार्यालयसहित बैठक कक्ष निर्माण गर्न लागिएको हो । २०६३÷६४ मा स्थापना भएको उद्योग वाणिज्य संघले २०७२ साल चैत्रमा उद्योग वाणिज्य महासंघको सदस्यता पाएको थियो । त्यस अघि उद्योग वाणिज्य संघ चितवनको क्षेत्रीय शाखाको रुपमा रहेको थियो ।
संघको अधिवेशन माघ १५ गते
उद्योग वाणिज्य संघ खैरहनीको आठौं साधारणसभा तथा अधिवेशन आगामी माघको १५ गते हुने भएको छ । यसअघि मंसिर ४ र ५ गतेका लागि तोकिएको अधिवेशन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण स्थगित भएको थियो । संघको पछिल्लो निर्णयानुसार माघको १५ र १६ गतेलाई अधिवेशन तोकिएको संघका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए । अधिवेशनले पदाधिकारीसहित १७ सदस्य निर्वाचित गर्नेछ भने ४ जना सदस्य मनोनीत र निवर्तमान अध्यक्ष रहने व्यवस्था छ ।
अधिवेशन नजिकिएकाले यही पुसको ३० गते सम्म आफ्नो फर्म नवीकरण गराउन संघले सदस्यहरुलाई आह्वान गरेको छ । तोकिएको मितिमा नवीकरण नगरिए निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाउने संघका अध्यक्ष श्रेष्ठले बताए । आगामी नेतृत्वका लागि हालसम्म बाहिर कसैको नाम नआएपनि सहमतिकै आधारमा कार्यसमिति चयन गरिने अध्यक्ष श्रेष्ठको दावी छ । आगामी अधिवेशनमा संघले वरिष्ठ उपाध्यक्षलाई अर्को अधिवेशनबाट स्वतः अध्यक्ष बनाउने गरी विधान संसोधनको तयारी गरेको छ । त्यसका लागि यही अधिवेशनमा विधान संसोधन प्रस्ताव लैजाने संघले जनाएको छ ।