रत्ननगर, ७ पुस ।
पोखरामा आयोजना हुन लागेको १९ औं सडक महोत्सव २०७४ लाई सफल बनाउन आयोजक टिम प्रचारप्रसार अभियानको क्रममा चितवन आइपुगेका छ । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिने पोखरा सडक महोत्सवलाई सफल बनाउन आयोजक क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशनलगायत अन्य सहयोगी संस्थाका पदाधिकारी प्रचारप्रसारका लागि चितवन आइपुगेका हुन् ।
आगामी पुस १३ देखि १७ गतेसम्म आयोजना हुने सडक महोत्सवको तयारीबारे सौराहामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । सडकमै खाने सडकमै रमाउने वातावरण सिर्जना गर्न १९ औं संस्करण स्वरुप सडक महोत्सवको तयारी भइरहेको आयोजक रेवानका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारसँगै हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, विभिन्न जिल्लामा उत्पादन भएका सुन्तला तथा अन्य कृषि जन्य उत्पादनको प्रदर्शनी, बाल उद्यानलगायत दैनिक ख्याती प्राप्त राष्ट्रिय कलाकारबाट लाइभ कन्सर्ट हुने आयोजकले जानकारी दिएको छ ।
यो पटक सडक महोत्सवमा भारत, जपान, कोरिया, चीन, रसियालगायत मुलुकले समेत आ–आफ्नो मुलुकको सांस्कृतिक झाँकी प्रस्तुत गर्दैछन् । पोखरा सडक महोत्सवको ब्राण्डलाई स्थापित गराउन आफूहरु पोखराबाहेक अन्य प्रमुख शहरमा प्रचारप्रसारका लागि अभियानमा हिडेको महोत्सव संयोजक रेवान पोखराका अध्यक्ष गुरुङले बताए । रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा रत्ननगर वडा नम्बर ६ का वडाध्यक्ष बलराम दाहाल प्रमुख अतिथि थिए । यसअघि भैरहवा र बुटवल पुगेको टोली मकवानपुरलगायत विभिन्न शहरमा पुगेर प्रचारप्रसार गर्नेछन् ।