विप्लव काफ्ले/कायाकैरन
भरतपुर, ७ पुस ।
चितवन ट्राफिकले पछिल्लो ५ महिनामा १ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियमविपरीत सञ्चालन भएका सवारी कारबाही स्वरुप जरिवानावापतको सो राजस्व संकलन भएको हो ।
साउनदेखि मंसिर महिनासम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयले १२ हजार ५ सय ३० सवारी चालकलाई कारबाही गरी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा ४२ हजार ९ सय ९० जना सवारीचालक कारबाहीमा परेका थिए । गतवर्षको अनुपात हेर्दा भने यो जरिवाना अझै कम हो । यो वर्ष चुनाव र नारायणगढ–मुग्लिङ सडक खण्डमा ट्राफिक जनशक्ति खटिएका कारण सवारी चेकजाँचको संख्या कम भएको कार्यालयले जनाएको छ ।
यस्तै आर्थिक वर्ष ०७२÷७३ मा ५० हजार ७ सय ४० जना, ०७१÷७३ मा ४९ हजार ९ सय सवारीचालक कारवाहीमा परेका थिए । आर्थिक वर्ष ०७३÷७४ मा ३ करोड २३ लाख १४ हजार ५ सय रुपैयाँ, ०७२÷७३ मा २ करोड ९७ लाख १७ हजार ८ सय रुपैयाँ, ०७१÷७२ मा २ करोड ४९ लाख ९१ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
“कारबाहीको दायरामा आउने चालकको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले भने, “ट्राफिक सचेतना अझै बढाउनुपर्ने देखिएको छ ।” त्यसैलाई जोड दिएर चितवनमा चैत र वैशाखमा ट्राफिक प्रशिक्षण दिएर ३ सय १६ विद्यालयमा ट्राफिक शिक्षक बनाइएको छ । यस्तै कारबाहीमा पर्ने चालकलाई विदाको दिनबाहेक विहान ८ः३० देखि ९ः३० बजेसम्म ट्राफिक कक्षामा सामेल गराउने गरिएको छ । विद्यालयमा ट्राफिक शिक्षा बोर्ड राख्ने अभियान यो हप्ताबाट सुरु गरिएको छ । सार्वजनिक सवारी सञ्चालक समितिहरु मार्फत मासिक कम्तिमा एकपटक चालकलाई प्रशिक्षण गर्ने काम पनि गरिदै आइएको छ । चितवनमा १९ जना काजमा र ३० जना स्थाई दरबन्दीसहित कूल ४९ जना ट्राफिक कार्यरत छन् ।
“ट्राफिक प्रहरीले राजस्व संकलन गर्ने त होइन । तर, ट्राफिक नियम उल्लंघन हुन थालेपछि ऐनअनुसार जरिवाना लिएका हौँ”, पन्तले भने, “मोटरसाइकल, साना सवारी र ग्रामीण बस्तीमा बढी ट्राफिक नियमविपरीत चलाइएको पाएका छौँ ।” चालु आर्थिक वर्षमा मादक पदार्थ सेवन (मापासे) गर्ने २ सय ५७ जना चालकबाट २ लाख ६३ हजार रुपैयाँ, भार क्षमता बढी गरी सवारी चलाउने २ हजार ६ सय ८० जना चालकबाट २१ लाख ६८ हजार रुपैयाँ, हेलमेट र सिटबेल्ट प्रयोग नगर्ने ९ सय ५४ जना चालकबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँ, सवारी कागजपत्र विना सवारी चलाउने २ हजार ३ सय ८२ जना चालकबाट ११ लाख ९१ हजार रुपैयाँ, लाइसेन्सविना सवारी चलाउने २ हजार १ सय ५ जना चालकबाट २१ लाख ५ हजार रुपैयाँ जरिवाना वापतको राजश्व संकलन भएको छ । यस्तै सवारी लाइट ठिक नभएका सवारी चलाउने ५५ जनाबाट ५५ हजार रुपैयाँ, गलत स्थानमा पिकअप ड्रप गर्ने, अनावश्यक सवारी मोड्ने ५ हजार ४ सय जनाबाट ३५ लाख ८८ हजार रुपैयाँ, तीव्र गतिमा सवारी चलाउने १ सय ११ जना चालकबाट ५५ हजार ५ सय रुपैयाँ, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीका ९ सय ६७ जना चालकबाट १० लाख ८१ हजार रुपैयाँ र प्रायोजन विपरित सामान ओसार्ने सवारीका १ सय ३९ जना चालकबाट १ लाख ३९ हजार रुपयाँ राजश्व संकलन भएको छ ।
“विहान सवारीका काजपत्र, बेलुका मापासेको छड्के चेकजाँच दिनहु भैरहेका छन्”, उनले भने, “दिउसो ट्राफिक व्यवस्थापन र ट्राफिक नियम नमान्ने चालकलाई कारवाही गरेका छौँ ।” उनले थोरै जनशक्तिले चेकजाँच गर्दा समेत कारवाहीमा पर्ने चालकको संख्या धेरै देखिएकाले दुर्घटनाको जोखिम बढेको बताए । चितवनमा भरतपुरको मुख्य बजार क्षेत्रको रिंगरोड ११.४ किमि छ । यस्तै राजमार्गको दुरी ९३ किमि पर्छ भने सवारी चाप बढी हुने सडक सञ्जालको दुरी २ हजार १ सय ८५ किमि छ । ट्राफिक प्रहरी भरतपुरमा २२ जना, ट्राफिक प्रहरी कार्यालय मुग्लिङमा ४ जना, अस्थाई ट्राफिक प्रहरी बीट अन्र्तगत माडी, चनौली, गीतानगर, सौराहामा १÷१ जना, रामनगर, सिमलताल, पर्सा, भण्डारामा २÷२ जना, टाँडी, गोन्द्राङमा ३÷३ जना ट्राफिक प्रहरी परिचालन भएका छन् ।
९ वटा ब्रेथलाइजर मेसिन
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा मापसे चेकजाँच गर्ने ९ वटा ब्रेथलाइजर मेसिन सञ्चालनमा आएका छन् । ०७१ सालदेखि चितवनमा चालकले मादक पदार्थ सेवन गरे या नगरेको पत्ता लगाउन ब्रेथलाइजर मेसिन प्रयोगमा ल्याइएको थियो ।
“छड्के चेकजाँचका क्रममा ९ वटै ब्रेथलाइजर मेसिन प्रयोगमा आएका छन्”, जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक कृष्णज्यू ठकुरीले भने, “४ वटा मेसिन अत्याधुनिक छन्, मापसेको मात्रा चेक गरेको समय सहित तत्काल प्रिन्ट गर्न मिल्ने खालका छन् ।” उनका अनुसार टाँडी, गोन्द्राङ र मुग्लिङमा ब्रेथलाइजर मार्पतन नियमित चेकजाँच गर्ने गरिएको छ । यस्तै अत्याधुनिक उपकरण भरतपुर क्षेत्रमा छड्के चेकजाँचका लागि प्रयोग गर्ने गरिएको छ । ५ वटा प्रहरी विभागमार्फत कार्यालयले प्राप्त गरेको थियो भने २ वटा पुरानो मेडीकल कलेज र २ वटा गैरआवासीय संघ जापान मार्फत सहयोग पाएको थियो ।
दुर्घटना संख्या विगतजस्तै
चितवनमा सवारी दुर्घटनाको संख्यामा कमी आउन सकेको छैन । चालु आर्थिक वर्षको ५ महिनामा ९६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परि ५५ जनाले ज्यान गुमाएका छन् । यस्तै ८१ जना गम्भीर घाइते भएका छन् भने १ सय २४ जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै दुर्घटनामा मोटरसाइकल परेका छन् । चालु आर्थिक वर्षमा ६२ वटा मोटरसाइकल ,२२ वटा बस, २३ वटा ट्रक, २० वटा जीप÷कार, ४ वटा ट्याक्टर दुर्घटनामा परेका छन् । चालु आर्थिक वर्षमा दुर्घटनामा परि ७० वटा सवारीमा क्षति पुगेको छ ।
ट्राफिक प्रहरी कार्यालय चितवनको अभिलेखका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा २ सय ५८ वटा दुर्घटनामा १ सय ६३ जनाले ज्यान गुमाए भने ५ सय ७५ जना गम्भीर घाइते भएका थिए । यस्तै आर्थिक वर्ष ०७२÷७३ मा १ सय ५१ वटा दुर्घटनामा ७५ जनाले ज्यान गुमाए भने २ सय ३५ जना गम्भीर घाइते भए । आर्थिक वर्ष ०७१÷७२ मा १ सय २६ वटा दुर्घटनामा ८२ जनाको मृत्यु भयो भने २ सय ७३ जना गम्भीर घाइते भएका छन् ।
“चालककै लापरवाहीले धेरै दुर्घटना भएका छन्, त्रीव गति, मापसे प्रयोग, लेन अनुशासन पालना नगर्दा दुर्घटना भएका छन्”, चितवन ट्राफिक प्रमुख सन्तोष पन्तले भने, “ग्रामीण क्षेत्रमा साना सवारी दुर्घटना बढी भएका छन्, लाइसेन्स विना सवारी चलाउँदा पनि जोखिम बढेको छ ।”