ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर, ६ पुष ।
रत्ननगर नगरपालिका तोकिएको मितिमा बालश्रममुक्त नहुने भएको छ । सन् २०१७ अर्थात यही पुस १६ गतेभित्र रत्ननगरलाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्य थियो ।
स्थानीय तहको निर्वाचनअघि राजनीतिक संयन्त्र र कर्मचारीले रत्ननगरलाई २०७४ सालको पुस १६ गतेभित्र नगरलाई नै बालश्रममुक्त गर्ने लक्ष्यसहित प्रतिबद्धता जनाएका थिए । बालश्रममुक्त गर्नका लागि धेरै सूचकहरु पूरा गर्नुपर्ने भएकाले लक्ष्यअनुसार नसकिए पनि केही समय धकेलेरै भएपनि सो लक्ष्यलाई मूर्त रुप दिन निर्वाचित जनप्रतिनिधि तयार भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वन बताउँछन् ।
तोकिएको मितिमा बालश्रममुक्त घोषणा गर्न नसकिएपनि सन् २०१९ अर्थात वि.सं. २०७६ सालभित्र बालमैत्री बनाउने यहाँका जनप्रतिनिधि तथा सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । रत्ननगरमा कूल १६ वडा छन् । तर, अहिलेसम्म एउटा वडा पनि पूर्णरुपमा बालश्रममुक्त घोषणा भएको छैन । बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालनपछि हालसम्म रत्ननगरका ६ वटा टोल विकास संस्थालाई मात्रै बालश्रममुक्त घोषणा गरिएको छ । रत्ननगर नगरपालिका–१२ को शान्तिकुञ्ज र पञ्चकन्या हाईट टोल विकास संस्था, रत्ननगर–१ को नमूना चौधरी टोल तथा रत्ननगर–३ को हाजिपुर र सयपत्री टोल विकास संस्था मात्रै बालश्रममुक्त घोषित टोल हुन् ।
“बालश्रममुक्त गर्ने काम सजिलो छैन, यसका धेरै सूचक पूरा गर्नुपर्ने रहेछ”, मेयर वनले भने, “अब जनप्रतिनिधिले नयाँ ढंगबाट योजना बनाएर नगरलाई नै बालश्रममुक्त र बालमैत्री नगर बनाउने प्रतिबद्धता जनाएका छौं ।” बालमैत्री नगरपालिका बनाउनका लागि बुधबार बालमैत्री स्थानीय शासन नगर समिति गठन गरिएको छ । नगरस्तरीय समितिको अध्यक्षमा मेयर नारायण वन, उपाध्यक्षमा उपमेयर विमला दुवाडी, सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना रहेको नगरस्तरीय समिति बनाइएको हो । समितिको सदस्यहरुमा शिवप्रसाद घिमिरे, राजेन्द्र बराल, शान्ति शर्मा गौतम, सपना बोहरा, तिलक शर्मा पौडेल, सरस्वती लामा, मीना गिरी, राजाराम रेग्मी, युनिका ढकाल, निसान बस्नेत, रामप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालयको प्रतिनिधि र सामुदायिक सेवा केन्द्रका प्रतिनिधि चयन भएका छन् ।
नगरमा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत आयोजना गरिएको दुई दिने योजना तर्जुमा गोष्ठीले पञ्चवर्षीय योजनाको खाकासमेत तयार गरेको छ । बजेटसहितको प्रभावकारी योजना समावेश गरी आवधिक योजनाको खाका तयार गरिएको मेयर वनले जानकारी दिए ।
आवधिक योजनाको खाकालाई अन्तिम रुप दिन नगरपालिकाले मेयरको संयोजकत्वमा समिति बनाइएको छ । समितिले १० दिनभित्र सो योजनालाई अन्तिम रुप दिने छ । रत्ननगरलाई बालश्रममुक्त र बालमैत्री नगर बनाउन रत्ननगर उद्योग वाणिज्य संघले नगरपालिका र युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम सञ्चालनअघि नगरमा ५ सय ८५ जना बालश्रमिक रहेकोमा हाल ३ सय १५ मा झरिसकेको छ ।
सन् २०१७ भित्र रत्ननगरलाई बालश्रममुक्त गर्ने लक्ष्य लिइएपनि पछि बछौली र पिठुवा गाविस पनि समाहित भएकाले लक्ष्य पूरा हुन नसक्ने देखिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी बताउँछन् । रेग्मीका अनुसार नगरलाई बालश्रममुक्त बनाउन संघले श्रमिक बालबालिकाहरुलाई श्रमबाट मुक्त गरी परिवारको जिम्मा लगाउने,उनीहरुलाई सीप प्रदान गर्ने, विद्यालय भर्ना, शैक्षिक सामाग्री सहयोग र आयआर्जनका लागि उनीहरुका अभिभावकहरुलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।