विप्लव काफ्ले/कायाकैरन
भरतपुर, ६ पुष ।
भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको आधा समय घर्किनै लाग्दा बल्ल बजेट तथा योजना निर्माण गर्ने काम अघि बढाएको छ । महानगरपालिकाले यही २१ गते बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । यसअघि कात्तिक २८ गते बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाइएको थियो ।
“झण्डै सवा तीन अर्बको बजेट बनाउन लागिपरेका छौं”, भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीले भने, “१७ वटा वडाले योजना पेश गरिसकेका छन्, बाँकी १२ वटा वडाले पनि छिट्टै बुझाउनेछन्, बजेट तथा कार्यक्रम तर्जुमा समितिले ती योजनालाई एकीकृत गरी छलफल गर्नेछ, विषय क्षेत्रगतरुपमा छलफल तथा योजना सिफारिस हुनेछन्, कार्यपालिका बैठकले अनुमोदन गरेपछि नगर सभामा बजेट प्रस्तुत हुनेछ ।”
भरतपुर महानगरको नगर परिषद् तयारी
उनले वडास्तरबाट पूर्वाधार विकासका योजना माग भइरहेको बताए । दोस्रो प्राथमिकतामा सामाजिक क्षेत्र, क्षमता अभिवृद्धि र सीप विकासका योजना माग भएको जानकारी दिए । बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक तथा उपमेयर पार्वती शाहले प्रत्येक वडालाई १ करोडभित्रको सीमामा योजना छनौट गर्न अनुरोध गरेको बताइन् । “पूर्वाधार विकासतर्फ ८० लाख, लक्षित वर्गतर्फ १० लाख र आकस्मिक योजनाका लागि १० लाखको सिलिङसहित योजना माग गरेका छौँ”, उनले भनिन्, “वडाभेलाबाट माग भएका योजना पठाउनुपर्नेछ, दीर्घकालीन महत्व र विगतका अधुरा योजना माग गर्न अनुरोध गरेका छौँ ।” उनका अनुसार वडास्तरीय योजना १ करोड बराबरका र नगरस्तरीय योजनामार्फत प्रत्येक वडामा कम्तीमा १ करोड थप हुने गरी बजेट खाका बनाउने काम भइरहेको छ । “गतवर्ष उपमहानगरपालिकाले २४ करोड आन्तरिक आम्दानी गरेको छ”, राजस्व परामर्श समितिको समेत संयोजक रहेकी शाहले भनिन्, “सबैलाई राजस्वको दायरामा ल्याउनुपर्ने अवस्था छ ।” आर्थिक स्रोत बढाउने लक्ष्य लिएको र राजस्व दर पनि समायानुकूल बनाउन लागेको उनले बताइन् ।
मेयर रेनु दाहालले ग्रामीण क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट तयार पारिने बताइन् । “देशकै केन्द्रभागमा रहेको महानगर हो, यहाँ विकासका प्रशस्तै सम्भावना छन्”, उनले भनिन्, “शहरतिरभन्दा ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकास गर्ने हाम्रो पहिलो प्राथमिकता हो ।” उनले महानगरको भौतिक पूर्वाधारको गुणात्मक विकासका लागि राष्ट्रिय महत्व र गौरवका योजना कार्यान्वयन गर्न केन्द्रीय तह र दातृ निकायसँग पहल गरिने बताइन् । “बजेट बनाउन केही ढिलाइ भएकै हो । तर, परिस्थितिले गरेको हो”, उनले भनिन्, “बजेट ढिलो आएपनि कार्यान्वयन गर्न सबै वडामा जनप्रतिनिधि छन्, नगरबासीका भएको निराशा हट्नेछ, विकासले ‘स्पीड’ लिनेछ ।”
नगरसभाका लागि भोलि पुस ७ गते वडा तहका योजना बजेट तथा कार्यक्रम तर्जुमा समितिले एकीकृत गर्नेछ । यस्तै विषयगत योजनाबारे ८ देखि १२ गतेसम्म छलफल हुनेछ । समितिले सिफारिस गरेका योजना पुनः बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकमा पेश गर्ने कार्यतालिका १३ देखि १६ गतेसम्म तोकिएको छ । यस्तै तर्जुमा समितिले १८ गते आवश्यक छलफल गरी सबै योजना नगर कार्यपालिकाको बैठकमा पेश गर्नेछ । कार्यपालिकाले अनुमोदन गरेपछि महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम नगरसभामा २१ गते प्रस्तुत हुनेछ । त्यसपछि २३ गतेसम्म जनप्रतिनिधिसहितको छलफलबाट योजना पारित गराउने छ ।
यसअघि कात्तिक मसान्तसम्म गर्ने भनिएको नगरसभा निर्वाचन आचारसंहिता लागेपछि रोकिएको थियो । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट भरतपुर महानगरले १ सय ३५ जना जनप्रतिनिधि पाएपनि भरतपुर–१९ र २० का जनप्रतिनिधि र मेयर उपमेयरको टुंगो झण्डै तीन महिनापछि साउनको तेस्रो हप्तामा मात्रै लागेको थियो । यस्तै नगर कार्यपालिकाले भदौ ३० गतेमात्रै पूर्णता पाएको थियो । साउन अन्तिम साता आएको बाढीले केही वडा प्रभावित भएपछि उद्धार तथा राहत वितरणमा जनप्रतिनिधि व्यस्त बनेका थिए । चाडबाड, प्रतिनिधिसभा र प्रदेशसभा चुनावले पनि महानगरको नगरसभा अनिश्चित बन्दै आएको थियो ।
कस्ता छन् ठूला योजना ?
भरतपुर महानगरपालिकाले चक्रपथ निर्माणको कामलाई पहिलो प्राथमिकतामा पारेको छ । शहरी विकास मन्त्रालयमार्फत आएको २ अर्ब बराबरको बजेट कार्यान्वयन गर्न दुई ठाउँमा सर्भे गरिसकेको छ । गोन्द्राङदेखि पटिहानी र पुलचोकदेखि रामघाटसम्मको सडकखण्ड बनाउन सर्भे गरिएको हो । “सर्भेको प्रतिवेदन आउन बाँकी छ, चक्रपथसँग भित्री सडक सञ्जाल बनाउने गरी बजेट तर्जुमा गर्न लागेका छौँ”, महानगरपालिका प्रमुख जोशीले भने, “महानगरलाई समग्र चक्रपथले घेरेको बनाइनेछ ।” यस्तै सिटी हल बनाउने काम दोस्रो प्राथमिकतामा परेको छ ।
“पश्चिम चितवन, भरतपुर–१० को वडा कार्यालय नजिक वा नारायणी कला मन्दिरलाई व्यवस्थापन गरेर बनाउने भन्नेबारे चर्चा भएको छ”, जोशीले भने, “जग्गा पहिचान गरेरै यही वर्ष सिटी हल बनाउने लक्ष्य महानगरले लिएको छ ।” यस्तै फोहरमैला व्यवस्थापन गरेर ऊर्जा निकाल्ने कामका लागि २५ करोडको लागतमा ल्याण्डफिल साइट बनाउने अर्को प्रमुख योजना हो । “विश्व बैंकले १० करोड अनुदान दिनेछ, लगानीकर्ताले १५ करोड लगानी गर्नेछन्”, उनले भने, “प्रस्ताव आह्वान गरिसकेका छौँ, फोहरबाट प्रतिदिन ४ हजार केजी जैविक मल र ३८ सिलिण्डर ग्याँस उत्पादन गर्न सकिनेछ ।” जलदेवी सामुदायीक वनमा नेपाल सरकारले भोगाधिकार दिएको क्षेत्रमा सो परियोजना सञ्चालन हुनेछ । यस्तै जिल्ला समन्वय समितिमार्फत कार्यान्वयन हुन नसकेका १५ करोड बराबरका अधुरा योजनालाई पनि बजेटमा समायोजन गरि पुरा गरिछाड्ने लक्ष्य लिइएको छ ।
वडाध्यक्षलाई योजना छान्ने सकस
वडाभेलामार्फत माग भएका योजना छानेर बजेट माग गर्न वडाध्यक्षलाई सकस परेको छ । महानगरपालिकाले १ करोड बराबरको सिलिङ पठाउँदै योजना पेश गर्न भनेपछि कस्ता योजनालाई प्राथमिकतामा राख्ने भन्ने सकस परेको छ ।
साविक कविलास गाविस हाल भरतपुर महानगरको २९ नम्बर वडामा पर्छ । “घण्टौँ पैदल हिँडेर डोकामा गाग्री बोकी पानीको जोहो गर्नुपर्ने अवस्था छ”, भरतपुर–२९ का वडाध्यक्ष मनबहादुर मगरले भने, “विकासमा यहाँ धेरै बजेट आवश्यक पर्छ । तर, सबै वडालाई एउटै सिलिङ पठाइएको छ, नगरस्तरीय योजनाले अरु केही सम्बोधन गर्छ भन्ने झिनो आशा छ ।”
१ करोड बजेटमार्फत २० वटा वडास्तरीय योजना तयार गरिएको उनले बताए । चौकीडाँडामा खानेपानी आयोजनाका लागि सर्भे गर्न १० लाख बजेट पेश भएको उनले बताए । “ग्रोबल सडक बनाउन, मर्मत गर्न धेरै बजेट माग्नुपरेको छ”, उनले भने, “अविकसित वडामा समान बजेट सिलिङले उल्लेख्य प्रगति हुने देखिएन, चिन्ता बढेको छ ।”
भरतपुर–२८ महानगरको अविकसित र पर्यटकीय सम्भावना भएको क्षेत्र हो । “वडास्तरीय बजेटले नथेगेपछि हामीले केन्द्रीयतह मार्फतनै योजना कार्यान्वयन गराउन महानगरलाई आग्रह गरेका छौँ”, भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमालले भने, “नदी तटबन्धन र फाउण्डेसन सहितको मेसजाली राखेर वस्ती सुरक्षा गर्न धेरै बजेटको खाँचो छ”, उनले भने, “केन्द्रीय तहमार्फतनै बजेट विनियोजन हुनुपर्ने देखिएको छ, नगरस्तरीय योजना बनाउँदा यो क्षेत्रमा धेरै योजना पारिनुपर्छ ।”
उनका अनुसार निर्माणाधिन गोलाघाटको सनसेट भ्यु निर्माण, पर्यटन सूचना केन्द्र निर्माण, कुमाल जातीको होमस्टे निर्माण जस्ता पर्यटनलाई प्राथमिकतामा राखेर केही योजना माग भएको बताए । यो वडामा सडक सञ्जाल अवस्था निकै कमजोर छ । महानगरको मुख्य बजार रहेको नारायणगढ क्षेत्र वडा नम्बर ३ र १ मा पर्छ । “वडास्तरीय बजेट सिलिङले कति योजनालाई समेट्नु ?” भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले भने, “हामीले धेरै नगरस्तरीय योजना माग गरेका छौँ, शहीदचोकमा आकाशेपुल, हालको सम्बजीमण्डीलाई पार्किङ कम्प्लेक्स, नगरवनमा पिकनिक स्पोर्ट, पुङिगी खोला सफाई र सिमाङकनका योजना पनि मागेका छौँ ।” वडास्तरीय बजेटले उच्चस्तरीय ग्राबेल र कालोपत्रे गर्ने धेरै योजना रहेको बताए ।
यस्तै भरतपुर महानगरको केन्द्रभागमा रहेको वडा नम्बर १० का वडाध्यक्ष पनि नगरबासीको चाहना बमोजिमका योजना पार्न निकै चूनौतीपूर्ण रहेको बताउँछन् । “आर्थिक वर्षको आधा समय विकासे योजना नगरीनै सकियो”, भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले भने, “अब ६ महिनाभित्र पुरा गर्न सकिने योजनालाई छानेका छौँ, सडक मर्मत र उच्चस्तरीय ग्राबेलनै प्राथमिकतामा परेको छ ।” उनले नगरस्तरीय योजना मार्फत वडाकार्यालय नजिकैको सार्वजनिक जग्गामा सिटि हल, बालमन्दीरमा रहेको १२ कट्टठा क्षेत्रफलमा बालउद्यान, जिसस अगाडीको दुर्गा मन्दीरमा जेष्ठनागरिक मिलन केन्द्र, नारायणी नमूना माविभित्र सुस्तमनस्थिति डे केयर सेन्टर, कर्वड हलको स्तरोन्नती लगायतका योजना माग गरिने बताए ।