विप्लव काफ्ले/कायाकैरन
भरतपुर,५ पुस ।
‘असई साब्, विचार गरेर बोल्नुस्, यो मेरो नोकर होइन, मेरो श्रीमान् हो, यसले के गल्ती ग¥यो ?’ नारायणी नदी किनारको गौरेश्वर मन्दिर तल रहेको भवनमा कड्किदै थिइन् युवती । प्रहरीलाई कुटपिट गरेपछि सोधपुछमा ल्याएको जवाफ फर्काउँदै थिए सुवेदार साब् । सम्पन्न परिवारमा हुर्केकी युवतीले सामान्य व्यक्तिलाई प्रेम गरेको विषयलाई चर्चामा ल्याउन पत्रकारले पछ्याउन थालेपछि उनी आफ्नो जीवनको स्वतन्त्रतबारे निकै चिन्तित बनेकी छन् ।
मोडलिङ क्षेत्रमा रमाउन खोजेकी चितवनकी कृपा अधिकारी र कलाकार भीष्म जोशीले प्रयोग गरेको संवाद हो यो । मदन पुरस्कार विजेता रामलाल जोशीको ऐना कथा संग्रहभित्रको ‘श्रीमान् बीरबहादुर’ को नाट्य रुपान्तरणका लागि नाट्यकर्मी दैनिक अभ्यासमा जुटेका छन् । सुदूरपश्चिमेली परिवेशमा आधरित यो कथामा पुरुषपीडित उपल्लो वर्गकी नारी पात्रलाई गरीब परिवारमा हुर्केका व्यक्तिले दिएको सहारा र परिबन्दले जोडेको सम्बन्धलाई उतार्न खोजिएको छ ।
“मोफसलमा नाट्य संस्कृतिलाई विस्तार गर्न नाटक मञ्चन गर्न खोजिएको हो”, धनगढीका कलाकार भीष्म जोशीले भने, “कथालाई नाट्य रुपान्तरण गर्नु सजिलो होइन । तर, असम्भव छैन, हामी कलाकारिता उजागर गर्ने अभियानमा छौँ ।” जोशी यही २१ गते प्रदर्शन हुन लागेको चलचित्र ‘फिर्के’ मा एजेन्टको भूमिकामा ठूलो पर्दामा पनि देखिदैछन् । उनले ‘जालो’लगायत चलचित्र र ६ भन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । “पहिलोपटक नाटक निर्देशन गरेको छु”, उनले भने, “नाट्यकर्मीलाई उत्साह थपिने विश्वास छ ।”
श्रीमान् बीरबहादुर नाटक यही मंसिर १९ गतेदेखि नारायणी कला मन्दिरमा प्रदर्शन हुँदैछ । कर्मी नाट्य समूहले सो नाटक प्रदर्शन गर्ने तयारी गरेको हो । “नाट्यकर्मलाई निखारता ल्याउने अवसर पाएको छु”, नाटकमा अभिनय गरेकी कृपा अधिकारीले भनिन्, “चितवनमा पनि राम्रा नाटक मञ्चन हुन्छन््, राम्रा कलाकार छन् भन्ने सन्देश फैलिने छ ।” सो नाटकमा सुरेश जिसी, अञ्जान ढुंगाना, अस्मिता थापा, विवेक तिवारी, सुमित आचार्य, मुकुन्द खलपात्रको समेत अभिनय रहेको छ ।
“नाटक खेल्ने कलाकार पाउनै मुस्किल छ”, कर्मी नाट्य समूहका अगुवा मुकुन्द खलपात्र भन्छन्, “नाटक हेर्ने, कलाकारलाई प्रोत्साहन हुने वातावरण बनाउने हाम्रो प्रयास हो, हामी थियटर निर्माणको अभियानमै छौँ ।” खलपात्र ०७३ असार देखि चितवनमा ‘थियटर’ (नाटकघर) निर्माणका लागि कवितावाचन, काव्यमेला गर्दै आइरहेका छन् । “जेनतेन कार्यक्रम गर्न सफल भएका छौँ, तर थियटर बनाउने रकम जम्मा गर्न सकेका छैनौँ”, उनले भने, “थियटर बनेमा चितवन नाटकका लागि चर्चित हुनेछ, कलासंस्कृति पनि जोगिने छ ।”
श्रीमान् वीरबहादुर नाटक हेर्न २ सय र ५ सयका टिकट दिइने छ । २२ गतेसम्म प्रदर्शनी हुने सो नाटक दिनको दुई शोमा प्रदर्शन गरिने छ । “जग्गा र बाँस मात्रै जुटाउन सके जनश्रमदानबाटै नमूना थियटर बनाउने लक्ष्य छ”, खलपात्रले भने, “देउसीभैलोबाट पनि केही रकम जुटेको छ, १ सय ५० भन्दा बढीले एकैसाथ हेर्न मिल्ने थियटरको परिकल्पना छ, स्थानीय तहको सहयोगको अपेक्षामा छौँ ।” नाटक चितवन पछि धनगढी, काठमाण्डौमा पनि मञ्चन गरिने योजना छ ।