भरतपुर, ४ पुस ।
रोटरी क्लब अफ नारायणगढले पहिलोपटक आयोजना गरेको ‘नेपो रोटा मिनी म्याराथन’ नाम दिइएको ‘रोड रेस’को उपाधि नेपाली सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् । निर्धारित १५ किलोमिटर दूरी उनले ४४ मिनेट ५३ सेकेण्डमा पूरा गरे ।
सोमबार बिहान रत्ननगर टाँडी चोक केही परबाट सुरु गरिएको रेस नारायणगढको लीलाचोकमा आएर टुंगिएको थियो । त्यसमा १ सय ९३ जना सहभागी थिए । सुरुआतमा सडकै ढाक्नेगरी कुदेकाहरु विस्तारै घट्दै गए । बीचैमा दौड छोड्ने धेरै भएपछि ७४ जनाले मात्रै रेस पूरा गरे ।
सशस्त्र प्रहरीका गोपीचन्द्र कार्कीले ४५ मिनेट ३९ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो र नेपाली सेनाकै हेमलाल श्रेष्ठले ४५ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरी तेस्रो स्थान हात पारे । सुरुआतदेखि नै अग्रस्थानमा रहेका बस्नेतले दोस्रो हुने कार्कीलाई झण्डै एक मिनेट पछाडि छोडे । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार पाए । दोस्रो हुने कार्कीले २५ र तेस्रो भएका श्रेष्ठले १५ हजार नगद पुरस्कार पाए । साथमा मेडल पनि लिए ।
बिहान निकै चिसो थियो । बाटोभरि बाक्लो हुस्सू लागेको थियो । सडकमा गाडी पनि बाक्लै कुदेका थिए । तर, दौडनेले गाडीलाई अघि जान दिएनन् । ठाउँ–ठाउँमा गाडीको ताँती लागे । प्रहरीले ट्राफिक व्यवस्थापन गरेको थियो । अगाडि र पछाडि स्कर्टिङ टोली थिए । धिमे बाजाले थप रौनकता थपेको थियो ।
रोटरीका डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरी प्रमुख अतिथि र मिस नेपाल २०१६ अस्मी श्रेष्ठ विशिष्ट अतिथि थिइन् । उनीहरुले रिबन काटेपछि रेस सुरु गरिएको थियो ।