गैंडाकोट, ३ वैशाख ।
अक्षर समूह चितवनको आयोजनामा रोशन शेरचनको `गल्ली संसार´ निबन्धसङ्ग्रहको परिचर्चा कार्यक्रम गरिएको छ ।
समूहको सातौं अधिवेशनका क्रममा मङ्गलबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित परिचर्चा कार्यक्रममा उदय अधिकारी, नरेन्द्र कँडेल, रञ्जना लामिछाने र डाक्टर एकनारायण पौड्यालले गल्ली संसार निबन्धसङ्ग्रहको समीक्षात्मक टिप्पणी राखेका थिए ।
टिप्पणी राख्दै प्राध्यापक नरेन्द्र कँडेलले साँघुरो गल्लीबाट संसार चियाउने भावका निबन्धहरू सङ्ग्रहमा भएको बताए । त्यसैगरी बालकुमारी क्याम्पसकी प्राध्यापक रञ्जना लामिछानेले गल्ली संसार निबन्धकारको इमानदारी लेखन भएको बताइन् । `निबन्धकारले ईमानदार भएर लेख्नुभएको छ । वातावरण, प्रकृति संरक्षण र पर्यावरणका क्षेत्रमा निबन्धमार्फत उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ´, लामिछानेले भनिन् – `भोलिका पाठकले निर्धक्क खोजेर पढिने लेखक हुन् रोशन शेरचन ।´
कार्यक्रममा एलबी क्षेत्रीले शुभकामना मन्तव्य राख्दै शेरचनका निबन्धहरू पठनीय भएको बताए । समूहका अध्यक्ष रमेश प्रभातले आफ्नो दुई वर्षे कार्यकालमा गरिएका २८ वटा कार्यक्रमको भिडियो चिनारी प्रस्तुत गरेका थिए । अक्षर समूह चितवनको मङ्गलबारै सम्पन्न अधिवेशनले लेखराम सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।