काठमाडौं, ३ वैशाख ।
सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय बैठकले गरेको र यसका लागि बैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको आह्वान गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बैठक पछि जानकारी दिनुभयो ।
नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको उहाँले बताउनुभयो । यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको पनि उहाँले जानकारी दिनुभयो ।
नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बैठकले निर्णय गरेको छ । हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।