काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आज (मंगलबार) देखि अनलाइन आवेदन प्रक्रिया सुरु गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यो सेवा बिहान ११ बजेदेखि उपलब्ध गराइएको हो।
अनलाइन प्रणालीको थालनीसँगै विद्यार्थीहरूले अब बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर कागजी फारम बुझाउनु नपर्ने भएको छ, जसले लाइन लाग्ने झन्झटबाट छुटकारा दिलाउनेछ।
जोशीले विश्वविद्यालयले आफ्नै प्रविधिमा आधारित पद्धति विकास गरी यो सेवा सुरु गरेको जानकारी दिए। हाल ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको लागि मात्र यो सुविधा लागू गरिएको भए पनि क्रमशः अन्य सेवाहरू पनि अनलाइनमार्फत प्रदान गर्ने योजना रहेको उनले बताए।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार आगामी जेठ १५ गतेदेखि कार्यालयका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ।
विद्यार्थीहरूले student.tuexam.edu.np मा लग इन गरी आवश्यक निर्देशनहरू पालना गर्दै फारम भर्न र तोकिएको शुल्क सम्बन्धित बैंकमार्फत अनलाइन भुक्तानी गरी आवेदन बुझाउन सक्नेछन्।
शुरुआती चरणमा, रजिष्ट्रेसन कार्डमा उल्लेख भएअनुसार मार्कसिटमा एकरूपता भएमा त्यसअनुसार फारम भर्न सकिनेछ, नत्र जानकारी सच्याएर मात्र बुझाउनु पर्ने परीक्षा नियन्त्रक जोशीले स्पष्ट पारे।