चितवन, १ वैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर – २२ कार्यालय पटिहानीमा सोमबारबाट रैथाने बजारको शुभारम्भ भएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरका प्रमुख रेनु दाहालले हरेक शुक्रबार सञ्चालनमा आउनेगरी सुरु भएको रैथाने बजारको उद्घाटन गर्नुभएको छ ।
“स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ, आर्थिक समृद्धिको दिशामा अघि बढौँ” भन्ने नारासहित वडा नम्बर २२ परिसर, धनौजीमा बजार सञ्चालन हुनेछ । शुभारम्भ कार्यक्रममा वडा कार्यालयको प्रसंशा गर्दै मेयर दाहालले रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुले आन्तरिक जीविकोपार्जनमा टेवा पुर्याउने बताउनु भयो ।
प्रमुख दाहालले वडा अध्यक्ष बिष्णुराज महतोको मेहनतको प्रसंशा गर्दै उहाँ डायनमिक वडा अध्यक्षसमेत रहनु भएको र यो काम हरेक वडाले अनुशरण गर्नुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा समग्र होटलहरुको तर्फबाट कसरा रिसोर्टका जनरल म्यानेजर सन्तोष कुँवर, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, बागमती प्रदेशका निवर्तमान सांसद रामलाल महतोलगायतका अतिथिहरुले रैथाने बजार, रैथाने परिकार र भरतपुरको पर्यटनको विषयमा चर्चा गर्नुभएको थियो ।