नयाँ वर्षमा राष्ट्रमा नव्यता होस्
चमत्कार होस् कर्ममा दिव्यता होस्
उठोस् सभ्यता चेतना होस् प्रबुद्ध
सबैका मनोभाव होऊन् विशुद्ध
नयाँ वर्षमा भ्रष्टता दूर भागोस्
डढेलो अहङ्कारमा झट्ट लागोस्
बनून् स्वार्थ, विद्वेष सारा खरानी
हराऊन् अकर्मण्यताका निशानी
नयाँ वर्षमा देश होस् देशजस्तो
र उन्मेष यो होस् नवोन्मेषजस्तो
बृहत् एकता, शान्तिले मान पाओस्
युवामा स्वकर्तव्य आफै उदाओस्
नयाँ वर्षमा बुद्धिको होस् विकास
सबैमा मिलोस् न्यायको सत्प्रकाश
बलोस् दीप्त भै व्यक्तिमा सद्विचार
बजोस् बन्धुताको नयाँ एकतार
नयाँ वर्षमा हर्षको होस् प्रकर्ष
सुखैश्वर्य सम्प्राप्तिको होस् विमर्श
जुटी नव्य निर्माणमा देशबासी
उचालौँ अझै राष्ट्र नेपाल माथि ।।