भरतपुर, ३१ चैत ।
आइतबार वर्ष २०८१ को अन्तिम दिन थियो । वर्ष २०८१ लाई मैजारो गर्न सम्पूर्ण किताब नारायणगढले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान एवम् कवितावाचनको कार्यक्रम राखेको थियो । कविता सुनाउन रोल्पाका कविहरू प्रेमप्रकाश र समीप बैरागी आएका थिए । `रोल्पाका कविता´ नाम दिइएको कार्यक्रममा दुई चरणमा गरेर कविद्वयले ६/६ वटा कविता प्रस्तुत गरे ।
कार्यक्रमको सुरुवातमा कवि प्रेमप्रकाश प्रस्तुत भए । उनले `आगो लिन गएकाहरू´ शीर्षकको कविता सुनाए । यो कविता उनको हालै प्रकाशित सङ्ग्रह `रगतको तर्पण´मा पनि छ । कविताको एक हरफ यस्तो छ :
साँच्चै
कति लाग्ला समय
आगो लिन गएकाहरूलाई
फर्किएर यहाँ आइपुग्न ?
मौन जुलुसमा
जाग्राम सुतेको छ एउटा नीरस रात
अदम्य साहसमा
बाँचेको छ अर्को अपरिमार्जित इतिहास
बिद्रोही आँखामा
विगत – अन्दाज गरिरहेछ एक छापामार योद्धा !
कवि प्रेमप्रकाशले अन्य कविता पनि सङ्ग्रहबाटै छाने । सँगसँगै उनले `एउटा छापामारको अन्तिम आलाप´, `आदिवासी परिचय´, `झण्डाको यात्रा´, `विचार जरुरी छ´ र `सिरानीमा सपनाको दाग´ शीर्षकका कविता सुनाए ।
अर्का कवि समीप बैरागीले पनि आफ्नो कवितासङ्ग्रह `साहीमासा´ बाटै कविता सुनाए । उनले पहिलो कवितास्वरुप `कृपया न्याय दिनुहोस्´ शीर्षकको कविता सुनाए ।
श्रीमान् !
सपनाको मलामबाट फर्केर
न्याय माग्न –
हजुरको न्यायालयमा आएको छु
कृपया मलाई न्याय दिनुहोस् ।
नत्र बहुलायो भने मजदुरको आँसु
ईश्वरलाई पनि बगाउन सक्छ ।
यो कवितामा कविले आग्रह र आक्रोश मिसाएका छन् । त्यसपछि पालैपालो `निर्णय´, `प्रिय पत्रकार´, `तिमीलाई पर्खिरहेछु´, `साहिमासा´ र `नदुखाइदिनू मेरो छाती´ शीर्षकका कविता प्रस्तुत गरे ।
कवितावाचन कार्यक्रम सकिएपछि कविताका सन्दर्भमा विमर्श गरिएको थियो । कवि भूपिनले कविद्वयका कवितामा रोल्पा, विद्रोह र स्थानीय बिम्बहरूको सुवास मिसिएको बताए ।
`उहाँहरूलाई चितवनमा सुन्न पाएर आनन्दित महसुस गरेँ´, भूपिनले भने ।
कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीका अध्यक्ष इन्द्रराज पौडेलले कविद्वयलाई खादा लगाएर सम्मान गरेका थिए भने उदय अधिकारीले स्वागत मन्तव्य राख्दै दुबैजना कविका कविताले आफूलाई प्रभाव पारेको बताए । रमेश प्रभात, विद्या भण्डारी चिराग, रामकृष्ण अनायास, डोलबहादुर केसी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, रवीन्द्र पौडेललगायतले कविता राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।