मकवानपुर, ३० चैत ।
भरतपुर महानगरपालिका–२५, छाताचोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजे बुद्धनगरबाट अमृतचोकतर्फ जाँदै गरेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मेनरोडमा निस्किने क्रममा बाप्र ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
१३०४ नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–३५ का विशाल भट्टराई, पछाडि सवार २० वर्षीय सफल पौडेल, २०४० नम्बरका चालक भरतपुर महानगरपालिका–२७ का ३९ वर्षीय टेकबहादुर पुलामी मगर, २७ वर्षीय केशरी पुलामी मगर र १७ वर्षीया सुजिता पुलामी मगर घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा २०४० नम्बरका चालक टेकबहादुरको दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।