चितवन, २९ चैत ।
नयाँ वर्ष २०८२ को अवसरमा फेन्सी व्यवसायी सङ्घ चितवनले शुभकामना साँझ गर्ने भएको छ । व्यवसायीको हकहितमा समर्पित सङ्घले मनोरञ्जनको लागि ‘फेन्सी नववर्ष उत्सव- २०८२’ कार्यक्रम आयोजना गर्न लागेको हो ।
यो उत्सव चैत ३१ गते आइतबार साँझ भरतपुरको हाकिमचोकस्थित चितवन मिड टाउन (सिएमटी) रिसोर्टमा हुनेछ । कार्यक्रममा मुख्य आकर्षणका रूपमा चर्चित गायक सुगम पोखरेल रहेका छन् । पोखरेलको साथमा गायिक शान्तिरानी परियार र गायक अर्जुन सापकोटाको पनि प्रस्तुति रहनेछ ।
त्यस्तै हास्यकलाकारहरु प्रह्लाद बर्तौलालगायत स्थानीय कलाकारहरुको समेत बृहत् प्रस्तुति रहने सङ्घले जनाएको छ । व्यापार व्यवसायमा व्यस्त रहेका व्यवसायीबीच आपसी सद्भाव राख्दै मनोरञ्जन गराउन पनि सांगीतिक उत्सवको आयोजना गरिएको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताए ।
भरतपुर महानगरपालकाका उप्रमुख चित्रसेन अधिकारीले उक्त उत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारी तीव्र पारिएको अध्यक्ष पौडेलले बताए । संस्थाले सामाजिक उत्तरदायित्व तथा व्यवसायिक हकहितमा रहेर विभिन्न गतिविधिहरू गर्दै आएकौ अध्यक्ष पौडेलले बताए ।
कार्यक्रमको प्रबर्द्धकका रूपमा उद्योग वाणिज्य सङ्घ चितवन रहेको छ । त्यसैगरी इभेन्ट पार्टनरका रूपमा दाताज इभेन्ट र हस्पिटालिटी पार्टनरका रूपमा सिएमटी रिसोर्ट रहेको कार्यक्रम संयोजक एवम् सदस्य विपिन अर्यालले बताए । कार्यक्रममा फेन्सी व्यवसायी सदस्य एवम् सबै बस्तुगतका व्यवसायी साथै शुभेच्छुकहरुको उपस्थिति रहने फेन्सी व्यवसायी सङ्घ चितवनका प्रवक्ता सन्तोष पोखरेलले जानकारी दिए ।
२०४५ सालमा स्थापना भएर २०७३ सालमा विधिवत दर्ता गरिएको सङ्घले पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । फेन्सी व्यवसायी सङ्घ चितवन उद्योग वाणिज्य सङ्घ चितवनको सबैभन्दा ठुलो वस्तुगत सङ्घ पनि हो । सङ्घले नयाँवर्ष २०८२ को भित्तेपात्रो समेत प्रकाशन गरेको छ ।