मकवानपुर, २८ चैत ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जनताको स्वास्थ्य अधिकारलाई सम्बोधन गर्न सरकार सधैँ तत्पर रहेको बताएका छन् । ललितपुर जिल्लाको विकट गाउँपालिका कोन्ज्योसोममा निर्माण भएकाे शंखु अस्पताल भवनकाे उद्घाटन गर्दै मन्त्री थापाले प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिए ।
अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । शंखु अस्पताल १३ करोड ८१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हाे । भवन मात्र भएर नहुने बताउँदै मन्त्री श्रेष्ठले चिकित्सकलगायतका अन्य कर्मचारी, उपकरण र सेवा प्रदान गर्ने प्रणाली पनि सँगै हुनुपर्ने बताए ।
कोभिड १९ महामारीको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यो अस्पताल स्थापनाको अभियानलाई निरन्तरता दिँदै मन्त्री थापाले सबै तह संघ, प्रदेश र स्थानीय एकै साथ लाग्नुपर्ने आवश्यकता औंल्याए । “पालिकाहरूबाट चिकित्सक, स्टाफ नर्सलगायत आवश्यक स्वास्थ्यकर्मी र उपकरणको माग भइरहेकै छ । यसलाई सम्बोधन गर्न प्रदेश सरकारले ११९ तहका अस्पताललाई सहयोग गर्ने गरी योजना बनाएको छ,” मन्त्री थापाले भने ।
सबै सुविधा तुरुन्त उपलब्ध हुन नसक्ने भए पनि टेलिमेडिसिन सेवाको माध्यमबाट दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा सरकार अग्रसर रहेको उनले जानकारी दिए । स्थानीय तहबाट सुरु भएको यो प्रयासलाई सुदृढ पार्न प्रदेश सरकारको थप सहकार्य आवश्यक रहेको स्थानयहरुले बताएका थिए । मन्त्री थापाले निकट भविष्यमा स्वास्थ्य सेवा गुणस्तरीय र पहुँचयोग्य बनाउन थप कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गरे ।
अस्पताल बनाउन स्थानीय विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गरेकी थिइन् । थप १ रोपनी सरकारी जग्गा र २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएकोसहित ६ रोपनीमा अस्पताल निर्माण गरीएको थियो । २०७८ भदौ २३ गते निर्माण कम्पनीसँग १३ करोड ८१ लाख रुपैयाँ निर्माण सम्झौता गरी काम शुरु भएको थियो ।