भरतपुर, २७ चैत ।
नयाँ वर्षको स्वागत गर्दै नारायणी नदी किनारमा भव्य सांगीतिक कार्यक्रम हुँदैछ । ‘मिसन रेड न्यू इयर फेस्ट–२०८२’ सांगीतिक कार्यक्रमको अहिले तयारी तीव्र पारिएको छ ।
नारायणी किनारलाई गुञ्जायमान बनाउन चर्चित सांगीतिक ब्याण्डहरुको उपस्थिति हुँदैछ । एकै दिन यति धेरै चर्चित ब्याण्डहरुको प्रस्तुती सायदै चितवनमा पहिलोपटक होला । कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड प्रस्तुति दिँदैछन् ।
एसडी ईभेन्ट्स एण्ड म्यानेजमेन्टले ‘मिसन रेड न्यू इयर फेस्ट’ नामक भव्य सांगीतिक कन्सर्ट गर्ने जमर्को गरेको हो । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएको आयोजकको दाबी छ । कन्सर्टमा चितवन सहित अन्य छिमेकी जिल्लाहरु साथै नेपालभरबाट हजारौँ दर्शकहरु आउने अपेक्षा गरिएको छ ।
चैत ३१ गते साँझबाट सुरु हुने भव्य कन्सर्टमा करिब १५००० बढी दर्शक आउने आयोजकको अनुमान छ । यी पाँच ब्याण्डको प्रस्तुतिको मनोरञ्जनका लागि खल्ती एपमार्फत अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ ।
एसडी फाउण्डेशनले चितवनसहित देशभर देखिएको रगत अभाव हटाउन ‘मिसन रेड’ अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् । ‘मिसन रेड’ अभियानले एक वर्षभित्र ५००० पिन्ट रगत संकलन गर्ने, १०००० युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २००० पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
कन्सर्टमा यी चर्चित ब्याण्डहरु दिँदैछन् प्रस्तुति :
१. मन्त्र ब्यान्ड
मिसन रेड अभियान अन्तर्गत आयोजित भव्य कन्सर्टमा चर्चित मन्त्र ब्याण्डको बेजोड प्रस्तुति रहनेछ । मन्त्र ब्यान्ड नेपाली संगीत पारखीहरुको लागि चर्चित र लोकप्रीय नाम हो । यस ब्यान्डले आफ्नो संगीतमार्फत नेपालसँगै विभिन्न देशमा भव्य कन्सर्ट सम्पन्न गरेर हजारौं दर्शकको मन जितिसकेको छ । यो ब्यान्ड नेपाली सांगीतिक क्षेत्रमा पुरानो र ऐतिहासिक ब्याण्डमा पर्दछ । ब्याण्डले विगत २५ वर्षदेखि निरन्तर आफ्नो संगीतमार्फत नेपालीलाई सुमधुर संगीतको सुर, धुन र तालमा झुमाईरहेको छ । ‘वीर गोर्खाली गोर्खाली’, सधैँ सधैँ’लगायत गीतहरु यस ब्याण्डका चर्चित गीत रहेका छन् । मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको हो ।
२. कुटुम्ब ब्यान्ड
चितवनमा हुन लागेको भव्य सांगीतिक कन्सर्टमा आउन लागेको अर्को चर्चित ब्यान्ड हो ‘कुटुम्ब ब्याण्ड’। यस ब्याण्ड आफ्नै मौलिक शैलीका कारण नेपाली सांगीतिक क्षेत्रमा गर्विलो स्थानमा छ । कुटुम्बले देशमा मात्र नभई विदेशमा पनि सांगीतिक प्रस्तुति दिँदै आएको छ । जति विदेशमा प्रस्तुति दिएपनि आफूहरु स्वदेशमै नेपाली संगीतका पारखीहरुसँग झुम्न रुचाउने ब्याण्डका कलाकार बताउँछन् । २० वर्षदेखि सुरु भएको निरन्तर सांगीतिक यात्रामा कुटुम्बले संगीतमार्फत स्वयंसेवा गर्न सकिने सन्देश प्रवाह गर्न सफल भएको छ । कुटुम्ब ब्याण्डका सदस्यहरु आफ्नो सफलताको मापन सामाजिक कार्यमार्फत गर्ने गरेको बताउँछन् ।
कुटुम्ब सांगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको सांगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ । ब्याण्डका समूहमा अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मस्तिष्कमा बास बस्न सफल छन् ।
३. द एक्स ब्याण्ड
नेपाली संगीतमा अर्को चर्चित ब्याण्ड हो –‘द एक्स ब्याण्ड’। ‘तिम्रो नजरले’ , ‘एउटा चिठीको सहाराले’ , ‘बाईरोडको बाटोमा’ , ‘ठाडो जाने उकालो’ लगायत चर्चित गीतहरु यस ब्याण्डका रहेका छन्, जो अहिलेपनि नेपाली दर्शकहरुको मन मस्तिष्कमा ताजा छ्न् । नारायणी नदी किनारमा हुने कन्सर्टमा ‘द एक्स ब्याण्ड’ले पनि दर्शकहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको दाबी छ ।
४. समीर श्रेष्ठ एण्ड गुड बोइज
समीर श्रेष्ठलाई पछिल्लो समय नचिन्ने र नसुन्ने सायदै होला, नयाँ पुस्तामाझ लोकप्रीय नाम हो समीर श्रेष्ठ । समीरले सन् २०२१ मा’ चार देवार गीत’बाट आफ्नो सांगीतिक यात्रा सुरु गरे । सन् २०२२ मा उनको गीत ‘तिमि भएर’ नेपाली दर्शकमाझ लोकप्रिय बन्यो, जसबाट उनले दर्शकको अत्याधिक माया पाए । सन् २०२२ मा उनले ‘मायालु सुनन ‘गीत रिलिज गरे । यस्तै सन् २०२३ मा ‘उनी ,जे छौ तिमि’ गीत लिएर आए, जुन युट्युबमा ट्रेण्डिङमा पर्यो , जसले उनलाई नेपाली सहित अन्तर्राष्ट्रिय दर्शकहरूमाझ थप परिचित बनायो ।
उनको पहिलो डेब्यु गीत थियो ‘चार देवर’, जुन सन् २०२१ मा रिलिज भएको थियो । उनको ‘तिमी भएर’ , ‘मायालु सुनन’ , ‘जे छौ तिमी’ लगायत तीतहरु चर्चित छन् ।
५. केहर एण्ड जोए
यही चैत्र ३१ गते चितवनमा हुने भव्य सांगीतिक कन्सर्टमा ‘केहेर एण्ड जोए’ले आफ्नो बेजोड प्रस्तुति दिँदै छ । संगीत मार्फत मन्त्रमुग्ध बनाउन युवाहरुमाझ लोकप्रिय यस ब्याण्डले चितवनमा बेजोड प्रस्तुति दिन लागेको हो ।
केहर लिम्बु पछिल्लो युवापुस्तामाझ चर्चित नाम हो । लिम्बुका धेरै गीतहरु लोकप्रिय छन् । उनी नेपाली सांगीतिक आकाशमा पछिल्लो समय उदाउँदो तारा हुन् जसको स्वरमा झुम्ने पछिल्लो समयमा धेरै रहेका छन । `सरर सरर’, ‘ बैगुनी´, ‘तिमीलाई सम्झेर’, आजकल ‘ लगायत धेरै गीतहरु उनका नयाँ पुस्तामाझ चर्चित छन् ।